झापा, झापा गोल्डकपको आयोजनामा झापा लिग हुने भएको छ । मङ्सिर ७ गतेदेखि मेची रङ्गशालामा हुने झापा लिगको तयारी सुरु गरिएको छ । १५ दिनसम्म चल्ने प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने आयोजकले जनाएको छ ।
खेलाडी समेतको छनौट गर्ने उद्देश्य राखेर खेल आयोजना गरिएको अध्यक्ष दिपेश ढकालले जनाए । झापाका १५ वटा पालिका र आयोजकको एक टिम गरी प्रतियोगितामा १६ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् ।
१६ वटा टिमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने जनाइएको छ । प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा तेस्रो स्थानका लागि पनि खेलाइनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले २ लाख रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकआउट चरण प्रवेशपछि प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार रुपियाँ पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपियाँ खर्चको अनुमान गरिएको छ ।
