आबुधाबी । ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत गाएर चर्चामा आएका सर्जक तथा गायक प्रकाश पौडेलले आफ्नो गायन यात्राको २५ वर्ष पूरा गरेको अवसरमा अर्को रमाइला जनराको गीत ‘बुढा बुढी मिलेको’ शीर्षकको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।
गायक पौडेलले आज शुक्रबार बिहान ११:२६ को शुभ साइत पारेर ओएसआर डिजिटल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।
२५ वर्षको यात्रामा उनका अनेकौं म्युजिक भिडियो बजारमा आइसकेका छन्। टिकटकमा सक्रिय दाम्पत्य जोडीहरूलाई लक्षित गर्दै यो गीत सृजना गरिएको उनले बताए।
पछिल्लो समय ज्योतिष शास्त्रमा पीएचडी गरी छुट्टै पहिचान बनाएका गायक पौडेल लामो ग्यापपछि पुनः सांगीतिक क्षेत्रमा फर्किएका हुन्। कोरोना महामारीअघि उनका गीतहरू हरेक वर्षजसो बजारमा आइरहन्थे।
वित्तीय क्षेत्रमा जागिर, त्यसपछि ज्योतिष विद्याको अध्ययन र अभ्यासले गर्दा संगीतलाई पर्याप्त समय दिन नपाएको बताउँदै उनले अब केही अन्तरालपछि संगीत क्षेत्रमा निरन्तरता दिने योजना बनाएको बताएका छन्।
पहिलो एल्बम थ्रि मच बाट यात्रा सुरु गरेका पौडेलले अहिलेसम्म ६ वटा एल्बम सार्वजनिक गरिसकेका छन्। ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ का अतिरिक्त उनका कसैलाई नभन्नु ल, कानेखुसी, डक्टर साब भिटामिन लेख्दिनु, घाँस काट्ने खुर्केर, हास्ने गीत हाहाहा, सलाम वालेकुम, भुडें, भोली छुट्टी लगायतका गीतहरू निकै चर्चित छन्।
‘बुढा बुढी मिलेको कमिलाले चिलेको’ म्युजिक भिडियोलाई वरिष्ठ सञ्चारकर्मी तथा निर्देशक सुब्रत आचार्यले निर्देशन गरेका छन्।
भिडियोमा मोडल साक्षी लम्साल र कमल सिंहका साथै गायक प्रकाश पौडेल, सानु सत्याल, कुमार लम्साल, र सुधिर सापकोटा लगायतले अभिनय गरेका छन्।
गीत ‘बुढा बुढी’ को शब्द र स्वर स्वयं गायक पौडेलकै हो भने संगीत दीपराज नेयोङहाङले गरेका छन्। नेयोङहाङ संयुक्त अरब इमिरेट्स (यूएई) को आबुधाबीमा रहँदै संगीतकर्म गर्दै आएका छन्। सुरज श्रेष्ठले एरेन्ज गरेको यो गीतको म्युजिक भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन्।
वित्तीय क्षेत्रमा कार्यरत पौडेल हाल प्रभु बैंकका यूएई प्रमुख प्रतिनिधि हुन्। यूएईमा रहँदा उनी जागिरसँगै सामाजिक तथा कलाकारिता क्षेत्रमा पनि सक्रिय रहेका छन्।
‘बुढा बुढी’ गीत सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा ‘हिट’
लामो समयदेखि यूएईलाई कर्मथलो बनाइरहेका गायक पौडेलको नयाँ म्युजिक भिडियो अहिले मध्यपूर्वमा रहेका नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुमा ‘हिट’ भैरहेको छ।
गीत सार्वजनिक हुनुभन्दा दुई साताअघि नै आबुधाबीमा व्यवसाय गर्दै आएकी तनहुँकी सोनम श्रेष्ठले फेसबुकमार्फत लाइभमा सोही गीत बजाउँदै साथि भाइ रमाई रहेको भिडियो सार्वजनिक गरेकी थिइन्।
त्यस्तै, आबुधाबीमै इन्जिनियर पेशामा आबद्ध गोरखाका सचिन श्रेष्ठले श्रीमती सविता बस्नेतसँगको भिडियोमा ‘बुढा बुढी मिलेको’ गीतमा अभिनय गरेको भिडियो सामाजिक संजालमा राखेका थिए । (https://www.youtube.com/watch?v=uuUczqH8dMI&list=RDuuUczqH8dMI&start_radio=1)
त्यस्तै, नेपाली जनसम्पर्क समिति यूएईका सभापति भुवनीप्रसाद तिमिल्सिनाले पनि दुबईको मिराकल गार्डेनमा श्रीमती गौरी तिमिल्सिनासँग घुम्दै गरेको गीतमा अभिनय गरी भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
दुबईमा घर किनबेच व्यवसायमा संलग्न कुमार लम्सालले समेत गीत सार्वजनिक हुने सूचना जारी गर्दै गीतलाई थप हिट बनाएका छन्।

