झापा,
नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा “दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६” हुने भएको छ। प्रतियोगिता आगामी मे १५ र १६ (जेठ १–२) गते झापाको दमकस्थित पाथिभरा कुलिनरी आर्ट कलेजमा दुई दिनसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता अन्तर्गत खुला कुलिनरी प्रतिस्पर्धा, विभिन्न फुड कम्पिटिसन तथा फुड फेस्टिभल आयोजना गरिनेछ। प्रतियोगिताको मुख्य उद्देश्य कोशी प्रदेशसहित देशभरका रैथाने तथा लोपोन्मुख नेपाली परिकारहरूको संरक्षण र प्रवर्द्धन गर्नुका साथै नेपाली कला, संस्कृतिको जगेर्ना गर्नु रहेको अन्तराष्ट्रिय सेफ सोसाइटीका महासचिव दीपक कार्कीले जानकारी दिए।
आयोजकका अनुसार कार्यक्रममा देश तथा विदेशमा कार्यरत नेपाली सेफहरू, पाककला विद्यार्थी, होटल तथा रेस्टुरेन्ट व्यवसायी तथा पाककला क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूको सहभागिता रहने छ। विशेषगरी अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अन्तर्गत ४५ देशबाट सेफहरुको सहभागिता रहने बताइएको छ। कार्यक्रममा ५० भन्दा बढी फुड स्टलहरू रहनेछन्, जहाँ विभिन्न रैथाने तथा परम्परागत नेपाली परिकारहरू प्रदर्शन तथा बिक्रीका लागि राखिनेछन्।

यस प्रतियोगिताले नेपाली खानाको प्रवर्द्धन, पाककला पर्यटनको विकास तथा नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउने अन्तराष्ट्रिय सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले बताए । उनले थपे, विश्वभरि फैलिएका नेपाली सेफलाई एकीकृत गर्दै नेपाली खानाको अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार, गुणस्तर अभिवृद्धि र सेफहरूको व्यक्तिगत तथा व्यवसायिक विकासमा प्रतिबद्धता जनाइएअनुसार दमकमा दोस्रो कार्यक्रम गर्न लागिएको हो । हामी संस्थागत रूपमा अगाडि बढ्दै, नेपाली सेफको क्षमता अभिवृद्धिमा योगदान पुर्याउँदै, नेपाली खानालाई विश्वव्यपी रुपमा स्थापित गर्न लागिपर्नेछौं, उनले भने ।
कार्यक्रमका लागि देशभरबाट इच्छुक सहभागीहरूले प्रतिस्पर्धामा भाग लिन सक्ने आयोजकले जनाएको छ।
