आबुधावी। नेपाली मूलका धावक बाल जोशी सातै महादेशमा आयोजना हुने प्रतिष्ठित वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने भएका छन्। सात दिनसम्म सञ्चालन हुने यस चुनौतीपूर्ण प्रतियोगितामा विश्वका सातै महादेशमा एक–एकवटा म्याराथन दौड समावेश रहनेछ।
प्रतियोगिता अन्टार्कटिकाबाट सुरु भई अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामीमा समापन हुनेछ। यस अवधिमा धावकहरूले कुल २९४ किलोमिटर दूरी पार गर्नेछन्। प्रत्येक म्याराथनको दूरी ४२ दशमलव १९५ किलोमिटर रहनेछ।
बाल जोशी यस प्रतियोगितामा सहभागी हुने एकमात्र नेपाली मूलका धावक हुन्। उनले प्रतियोगिताका क्रममा नेपाली राष्ट्रिय पोशाक दौरा–सुरुवाल लगाएर दौडने तथा अमेरिकी झण्डा बोकेर सहभागिता जनाउने जनाइएको छ।
सन् २०१५ देखि सञ्चालन हुँदै आएको वर्ल्ड म्याराथन च्यालेन्जमा यस वर्ष ३० भन्दा बढी देशका ५४ धावक सहभागी छन्। प्रतियोगितामा नेपाल सहित चीन, अमेरिका, अष्ट्रेलिया, बेलायत, बेल्जियम, पोर्चुगल, क्यानडा, युक्रेन, नर्वे, अस्ट्रिया, डेनमार्क, हङकङ, न्युजिल्यान्ड र रोमानियालगायत देशका धावकहरूको सहभागिता रहेको छ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय बल जोशी सन् २०२१ देखि सामाजिक कार्य तथा मानव कल्याणको उद्देश्यसहित दौड प्रतियोगितामा सक्रिय छन्। उनी विगत दुई वर्षभन्दा बढी समयदेखि अमेरिकामा बसोबास गर्दै आएका छन्। हालसम्म उनले विश्वका विभिन्न मुलुकमा आयोजना भएका दुई दर्जनभन्दा बढी म्याराथन प्रतियोगितामा सहभागिता जनाइसकेका छन्।
जोशीले लगातार दुई दिन दुई फरक महादेशमा म्याराथन दौड पूरा गरेका हुन्।
जोशीले पहिलो म्याराथन अन्टार्कटिकामा र दोस्रो म्याराथन दक्षिण अफ्रिकाको केप टाउनमा सफलतापूर्वक सम्पन्न गरेका छन्। विशेष कुरा के छ भने उनले दुवै म्याराथन नेपाली राष्ट्रिय पोशाक दौरा,सुरुवाल लगाएर दौडेका थिए। यससँगै उनी विश्वव्यापी म्याराथन चुनौती प्रयास गर्ने दोस्रो नेपाली पुरुष बनेका छन्। उनले बाँकी रहेका पाँचवटै म्याराथन पनि नेपाली राष्ट्रिय पोशाकमै सम्पन्न गर्ने छन्। यसमार्फत जोशीले नेपाली पहिचान, संस्कृति र गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्य लिएका छन्।
उनि तेस्रो महादेश अन्तर्गत एसिया मंगलबार दुबईको एक्स्पो सिटी अन्तर्गत आधिकारिक डब्लुएमसी रुटमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली रन यूएईका नवराज पाण्डे फुले बुढाले बताए।
त्यस लगत्तै बुधबार युरोप (स्पेन)को म्याड्रिडमा कासा दे क्याम्पोको आधिकारिक रुट र बिहिबार दक्षिण अमेरिका (ब्राजिल)को फोर्टालेजा समुद्री किनार क्षेत्र तथा उत्तर अमेरिकाको मियामीको आधिकारिक डब्लुएमसी रुटमा दौडिने छन्।
