हालखबर संवाददाता
काठमाडौं – विदेशमा अलपत्र पारेर फर्काएका श्रमीकलाई क्षतिपुर्ति नदिने दुई म्यानपावर कम्पनी खारेजीमा परेका छन् ।
श्रमिकलाई क्षतिपूर्ति नदिने डलक्स एचआर सोलुसन र डिस्क्वार ग्रुपको नवज्योति एचआर सोलुसन म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले खारेज गरेको हो ।
रोजगारीमा पठाएर करार अनुसारको काम र तलब नपाई अलपत्र परेर फर्किएका श्रमिकलाई पटक पटक ताकेता गर्दा पनि क्षतिपूर्ति नदिएपछि एक लाख रुपियाँका दरले जरिबानासहित म्यानपावरलाई खारेज गरिएको विभागले जनाएको छ ।
डिलक्स म्यानपावरले बाइक राइडर र ट्याक्सीचालकमा पठाएका श्रमिकलाई सम्झौता अनुसारको काम नपाएपछि अलपत्र परेका थिए । त्यस्तै डिस्क्वारले साइप्रसमा पठाएका दुई जना महिला श्रमिक सम्झौता अनुसार काम नभएपछि स्वदेश फर्किएका थिए ।
वैदेशिक रोजगार विभागसँग श्रमिक पठाउन अनुमति लिएका म्यानपावर कम्पनीले पठाएका श्रमिकले करार अनुसार काम र तलब नपाएर फर्किएमा क्षतिपूर्ति सम्बन्धित म्यानपावर कम्पनीले नै दिनुपर्ने व्यवस्था वैदेशिक रोजगार ऐनले गरेको छ ।
विभागले दिएको निर्देशनमा अटेरी गरेपछि संस्थाले धरौटी राखेको रकमबाटै क्षतिपूर्ति भराउने र कारबाहीसहित म्यानपावर नै खारेजीको निर्णय गरेको जनाएको छ ।
