दोहा । नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा शुक्रबार कतार आउँदै छन् । नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् ।
अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस कार्यक्रमको नेतृत्व गरिरहेका महामन्त्री थापा विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् । नेपाली कांग्रेसको भावी नेतृत्व, भावी कार्यदिशा युवाहरूको काँधमा आउनुपर्छ भन्दै आफूलगायत केही युवा नेताहरूको साथमा देश दौडाहामा लागेका गगन पछिल्लो समय अमेरिका युरोप र मध्यपूर्वका देशहरुमा समेत नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्।
कार्यक्रममा मध्यपुर्वका जनसंपर्क समितिका सभापतिहरु समेत सहभागी हुने कार्यक्रम छ । ओल्ड सलातामा रहेको प्लाजाइन सभाहालमा हुने कार्यक्रममा केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर समेतको उपस्थिति रहने जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले बताएका छन् ।
कार्यक्रममा कतारमा रहेका सामाजिक,वैचारिक, संघसस्था तथा पत्रकार बुद्धिजीवी सामाजिक अभियान्ताहरु समेत सहभागी हुनेछन । साथै कतारमा रहेका नेपाली कांग्रेसका आस्थावान तथा युवा नेता गगन थापा लाई सुन्न प्रश्न गर्न चाहने सम्पूर्ण नेपालीहरुलाई आयोजकले सार्वजनिक निमन्त्रणा समेत गरेको जनाएको छ ।
जनसम्पर्क समितिका महामन्त्री केदार भुसालका अनुसार कार्यक्रम दिनको ठीक १२ बजे सुरु हुने र कार्यक्रममा महामन्त्री गगन थापा साथै केन्द्रीय सदस्य दोय किरण पौडेल र नैन सिंह महरको विशेष सम्बोधन रहनेछ।