मार्च तेस्रो सातादेखि अप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निस्चित भएको छ । त्यस क्रममा दुई देशबीच “ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने” नेपाली अधिकारीहरूले बताएका छन्।
त्यस्ता समझदारीहरुमा कतारले नेपालमा दाताको रूपमा विभिन्न विकास/निर्माण क्षेत्रमा लगानी गर्ने बाटो खुल्ने अधिकारीहरूको धारणा छ ।
विकास साझेदारीसम्बन्धी कम्तीमा आठवटा समझदारीबारे छलफल भएर मस्यौदाहरू आदानप्रदान भइसकेको र केहीलाई अन्तिम रूप दिइसकेको उनीहरूको भनाइ छ।

विशेषगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा कतारको विकास सहायतालाई स्वीकार्ने निर्णय भइसकेको अधिकारीहरूले बताए ।
कतारको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी निकाय ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत् नेपालले त्यस्तो सहायता पाउनेछ।
हालसम्म औपचारिक रूपमा कतारबाट त्यस्तो सहायता आएको छैन । अमिरको भ्रमणका क्रममा भने त्यसबारे समझदारीपत्रमा हस्ताक्षर हुने लगभग तय भएको छ ।
