काठमाडौँ — ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् ।
एनसीबी दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ सोमबार नेपाल ल्याइएको छ ।
पासवान लगायत व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको ९ लाख रूपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरी उक्त रकम विभिन्न बैंकका एटिएम कार्डहरूमार्फत निकालेका थिए । अनुसन्धानको क्रममा पासवान वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो ।
अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
