नेपाल सरकारले अब देखि विदेशी श्रमिकलाई १२ बर्षसम्म नेपाल बसेर काम गर्न पाउने सुविधा दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक बर्ष देखि विदेशी कामदारलाई नेपालमा १२ बर्षसम्मको लागि श्रम स्वीकृति दिने निर्णय गरेको हो । यस अघि अधिकत्तम सात बर्षसम्म श्रम स्वीकृति दिने व्यवस्था थियो ।
नेपालमा ठूला परियोजनाहरुले विदेशी श्रमिक भित्राउन पाउने व्यवस्था छ । परियोजनाहरुले आफनो आवश्यकता अनुसारको श्रमिक नेपालमा पाउन नसकेको अवस्थामा विदेशी श्रमिक भित्राउन सक्ने व्यवस्था छ । तर, ठूलो परियोजनाहरु सम्पन्न हुनको लागि नै १० देखि १२ बर्ष लाग्ने भएपछि विदेशी श्रमिकको श्रम स्वीकृतिको अवधि पनि लम्बाउनु परेको मन्त्रालयले जनाएको छ ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९/८० मा २८० वटा मान्यता प्रतिष्ठानका लागि दुई हजार १८१ विदेशी श्रमिकले विभागबाट श्रम स्वीकृति प्राप्त गरेका छन् । जसमध्ये ९५० नयाँ विदेशी श्रमिकले विभागबाट श्रम स्वीकृति लिएका छन् । एक हजार २३१ जनाले भने श्रम स्वीकृति नविकरण गरेका छन् ।
नेपालमा श्रम स्वीकृती लिने विदेशी श्रमिकमध्ये चीनिया नागरिक धेरै रहेका छन् । विभागका अनुसार नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने एक हजार ६२९ वटा जना छन् । संयुक्त राज्य अमेरिका १०६ नागरिकले श्रम स्वीकृति लिएका छन् । संयुक्त राज्य अमेरिकाका ८३, जापानका ६१, भारतका ५७ का नागरिकले विभागबाट श्रम स्वीकृति लिएर नेपालमा काम गरी रहेका छन् ।
