भुमही, नवलपरासी । पश्चिम नवलपरासीको भुमहीस्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा सम्पन्न लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो रामनगर तेक्वान्दो प्रतियोगितामा बुटवल तेक्वान्दो डोजाङले पुनः आफ्नो वर्चस्व कायम राख्दै टिम च्याम्पियन बन्न सफल भएको छ।
बुटवल डोजाङले क्योरुगी (फाइट) तर्फ टिम फस्ट ट्रफी जित्नुका साथै पुम्से तर्फ पनि टिम प्रथम स्थान हासिल गर्दै कुल ७ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेको छ। यसअघि सम्पन्न पहिलो संस्करणमा पनि बुटवल डोजाङ च्याम्पियन बनेको थियो।
विजेताहरूको उत्कृष्ट प्रदर्शन
पुरुष फाइटमा बिबेक श्रीस (२३ केजीमुनि), मनिष गोटाम (४५ केजीमुनि) तथा महिला तर्फ आयत सिद्दीकी (२९ केजीमुनि), सुब्रत बज्राचार्य (२६ केजीमुनि) र दीपिका कार्की (४९ केजी) ले स्वर्ण पदक जिते। पुम्से व्यक्तिगत तथा जोडीतर्फ एलेक्स रतन, गीताञ्जली, नीरुता नेपाली, पुष्पा थापा, युविन थापा, प्रकाश खासु, अञ्जल गोतामे लगायतले विभिन्न पदक जिते।
अन्य डोजाङहरूको उपस्थिति
रामग्राम डोजाङले दोस्रो स्थान हासिल गर्दा तिलोत्तमा डोजाङले तेस्रो स्थान प्राप्त गरेको छ। तिलोत्तमा डोजाङले पुम्सेमा १ स्वर्ण, १ रजत तथा क्योरुगीतर्फ ४ स्वर्ण, १ रजत र १ कांस्य पदक सहित टिम तृतिय बन्न सफल भयो।
तिलोत्तमा डोजाङका खेलाडीहरू — साया नेपाली (२४ केजी), सिखा परियार (२९ केजी), इभाञ्जली परियार (३८ केजी), अञ्जनी चौधरी (४९ केजी), भिम थारु (३६ केजी), रबिना तामाङ (४० केजी) लगायतले पदक जिते।
पुम्से तर्फ स्वस्तिक चौधरी र सम्पदा थापाले १२ वर्ष मुनिको जोडीमा, रितु सूर्यवंश र अबिरल परियारले १४ वर्षमुनिको जोडीतर्फ तेस्रो स्थान हासिल गरे।
४५० भन्दा बढी खेलाडीको सहभागिता
भुमहीमा सम्पन्न प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ४५० भन्दा बढी खेलाडीहरूले विभिन्न उमेर समूहमा सहभागिता जनाएका थिए। प्रतियोगिता एकल तथा जोडी पुम्से र क्योरुगी विधामा सञ्चालन भएको थियो।
उत्कृष्ट खेलाडी घोषणा
प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने बर्दघाटको अल्फा डोजाङका गणेश विक र निशा पुन मगरलाई उत्कृष्ट खेलाडी घोषित गरिएको छ।
आयोजनात्मक विवरण
प्रतियोगिता लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय, भैरहवाको आयोजनामा, सुनवल नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वयमा र योङ गोर्खालीज क्लबको व्यवस्थापनमा सम्पन्न भएको हो। खेल संयोजक टपन केवटले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका थिए।
पुरस्कार वितरण
प्रतियोगिताका प्रथम टोलीलाई ट्रफी, स्वर्ण पदक र प्रमाणपत्र, दोस्रो टोलीलाई रजत पदक र प्रमाणपत्र तथा तेस्रो टोलीलाई कांस्य पदक र प्रमाणपत्र प्रदान गरिएको थियो।
