दुबई । यूएईस्थित दुबईमा बुढासुब्बा कप फुटबल प्रतियोगिता हुने भएको छ। धरान हेल्पिङ ह्यान्ड्स र धरान युनाइटेड फुटबल क्लबको संयुक्त आयोजना, तथा युएई नेपाली फुटबल संघको संयोजनमा प्रतियोगिता हुन लागेको हो।
गत वर्ष मात्र युएईको सर्वाधिक पुरस्कार राशी सहित प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको आयोजक संस्थाले करिब ६ महिनाको अन्तरालमै अर्को भव्य प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा यूएईभरिबाट करिब २६ टोलीको सहभागिता रहने धरान युनाइटेड फुटबल क्लबका अध्यक्ष ईश्वर श्रेष्ठले जानकारी दिनुभयो।
प्रतियोगिता आगामी ३ मे २०२५ का दिन सारजाहको खेल मैदानमा भव्य रूपमा सम्पन्न हुने कार्यक्रम रहेको छ। अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिताको सफल आयोजनाका लागि यूएईका विभिन्न व्यवसायिक संस्थाहरूले प्रायोजन गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त प्रतियोगिताले यूएईमा रहेका नेपाली समुदायबीच खेलकुदको माध्यमबाट आपसी सद्भाव र एकता कायम गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकहरूको विश्वास छ।
प्रतियोगिता गत साता हुने तय भएको भएपनि खेलमैदानमा आएको समस्याका कारण तत्काल स्थानसारेर आगामी सातालाई सारीएको छ ।
