दुबई। यूएईको दुबईमा आयोजित रक्तदान शिविरमा १२७ जनाले रक्तदान गरेका छन्। रक्तदाता संघ यूएईले दोस्रोपटक आयोजना गरेको शिविरमा २३ जना महिला र १०४ जना पुरुषले रक्तदान गरेको कार्यक्रम संयोजक जगन अधिकारिले जानकारी दिए ।
शिविरमा १६१ जना सहभागी भए पनि कतिपयको स्वास्थ्य अवस्था अनुकूल नभएकोले रक्तदान गर्न नसकेको आयोजकले जनाएको छ।
शिविरमा सामान्य स्वास्थ्य परीक्षण अन्तर्गत रक्तचाप, हेमोग्लोबिनजस्ता परीक्षणहरू पनि गरिएको थियो। कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभागका यूएई प्रमुख सुजन थापाले रक्तदान गरी शिविरको उद्घाटन गरेका थिए।

शिविरमा नेपाली समाजका अध्यक्ष वेदप्रसाद अर्याल, समाजका संस्थापक उपाध्यक्ष चन्द्रप्रसाद सापकोटा, समाजकै पार्षद अध्यक्ष राम मोक्तान, जनप्रगतिशील मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, डिएनआईजीका मनोज मरहठ्ठा, सामाजिक अभियन्ता नमराज पाण्डे (फुलेबुढा), सविता रिजाल, नेपालका राष्ट्रिय धावक यमबहादुर हमाल, र प्रवास नेपाली सम्पर्क विभाग, दुबई शाखाका प्रमुख बलराम कुइँकेललगायतको उपस्थिति थियो। हर्क पोडकास्टका हर्क लोप्चन, अनुप तामाङ, सहयोगी क्रिस खतिवडा, दोलखाली समाज यूएईका अध्यक्ष तथा नेपाली रक्तदाता संघ यूएईका संरक्षकद्वय सुनिलराज श्रेष्ठ, सिन्धुपाल्चोक समाज यूएईका अध्यक्ष दीपक राउत, अर्घाखाँची सम्पर्क समिति यूएईका अध्यक्ष जेपी पोख्रेल, राष्ट्रिय सङ्गीतकर्मी संघ यूएईका अध्यक्ष प्रकाश पुरी, विश्वकर्मा समाज नेपाल यूएईका अध्यक्ष दुर्गा सुनार, देवदह सेवा समाज यूएईका अध्यक्ष रमेश न्यौपाने, साथै आयोजक संस्थाका उपाध्यक्षहरू सोनी भण्डारी, गोपिनी शाह लगायत समिति पदाधिकारी सुनिता कार्की, पूर्णिमा घिसिङ, तीर्थ श्रेष्ठ, ओम श्रेष्ठ लगायतले कार्यक्रम सफल बनाउन सहयोग गरेका थिए।

उपस्थितमध्ये चन्द्रप्रसाद सापकोटाले ३८ औं, राम मोक्तानले १३ औं ,तनहुँ सेवा समाज यूएईका महासचिव तथा हुलाकी डकुमेन्ट सेवाका संचालक दिपेन्द्र पौड्यालले २१ औँ पटक सुजन थापाले १० औं पटक रक्तदान गरेका थिए। ‘रक्तदान जीवनदान’ भएकाले स्वास्थ्य शिविरमा उपस्थित भएर आफुले पनि रक्तदान गरेको झापाकी टिका दाहालले बताईन ।

दुबई हेल्थ अथोरिटीको प्राविधिक सहयोग र रक्तदाता संघ यूएईको स्थानीय सहजीकरणमा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

नेपाली रक्तदाता संघ यूएई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था हो।संघले यसअघि जुन महिनामा पहिलोपटक दुबई हेल्थ अथोरिटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरेको संघका अध्यक्ष बासुदेव ढुंगानाले बताए।

