दुबई । दशैं बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको बिपिन कार्की स्टारर ‘भष्मे डन’ बिहीवारदेखी मध्यपुर्वका देशहरुमा एकै साथ प्रदशन हुने भएको छ ।
नेपाल रिलिजको पाँच दिनपछि ‘भष्मे डन’ मध्यपूर्वमा रिलिज हुँदैछ । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले यो फिल्मलाई युएई, कतार, बहराइन र कुवेतमा रिलिज गर्न लागेको हो ।
मध्यपूर्वका ठूला चेनहरु भक्स स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म प्रदर्शन हुने वितरक रमेश ढकालले जनाए । यी मल्टिप्लेक्सका मुख्य गेटमा ३/३ मिटरका फ्ल्याट स्ट्यान्ड लगाएको उनले जनाए । ‘यो नेपाली चलचित्र बजारका लागि सफलता हो’ उनले भने ।
मध्यपूर्वका देशहरुमा चलचित्र प्रदशन हुन लागेपछि पछील्लो समय नेपाली चलचित्रको बजार फैलिन लागेको छ । खाडीका देशमा कार्यरत नेपालीहरुले काम बाट बचेँको समय मिलाएर नेपाली भाषाका चलचित्र हेर्न पाएकोमा गौरव गर्न लागेका छन । सधैं जसो बिदेशी चलचित्र र तीनैका पोस्टरमात्र देखेका नेपालीहरुले आफ्नै भाषा र आफ्नै मुलुकका चलचित्र हेर्न पाउदा खुशी लागेको जनाएका छन ।
शनिबारदेखी देशब्यापी रिलिज भएको फिल्मका शो खचाखच भरिएका थिए चलचित्र घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । निर्माताहरुले ‘बम्पर’ ओपनिङ भएको बताएका छन् ।
सातवर्षअघि रिलिज भएको ‘पशुपति प्रसाद’को स्पिन–अफको रुपमा रिलिज भएको फिल्मले एड्भान्स टिकट बिक्रीमा पनि उत्साहजनक ट्रेन्डलाई आत्मसात गरेको थियो ।पशुपति प्रसाद भष्मे डनमा निर्माता खगेन्द्र लामिछाने, निर्देशक दीपेन्द्र के खनाल, कलाकारहरु स्वस्तिमा खड्का, बिपिन कार्की, सौगात मल्ल लगायतको भूमिका छ ।
