झापा । नेपालको पूर्वी नाकाको सुरक्षा जाँचमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग सुरु गरेको छ । प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको हो ।
धरानबाट झिकाइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ । ‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने छ । अर्को कुकुरको नाम ‘पिङ्कु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र सवारी साधनमा लुकाएर ल्याएको लागुऔषध पत्ता लगाउन सहयोग गर्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
ती कुकुर परिचालन गर्न नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई जना प्रहरी खटिएका छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसाम, मेघालय, अरुणाचल, नागाल्याण्डलगायतका प्रान्तमा आवतजावत गर्नका लागि काँकडभिट्टा मुख्य नाका हो । स्थलमार्गबाट भुटान, बङ्गलादेश र म्यान्मार जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् । प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुवै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको छ ।
दुई महिना अघिदेखि काँकडभिट्टाको पुरानो भन्सार क्षेत्रमा सवारीसाधन, नम्बर प्लेट, यात्रुको अनुहार र गतिमानसमेत रेकर्ड गर्नसक्ने राडार गनसहितको सीसी क्यामरा जडान गरिएको छ।
उक्त सीसी क्यामेराले राजमार्गमा ओहोरदोहोर गर्ने सवारी साधनको नम्बर प्लेटको तस्बिर खिच्ने र अभिलेख राख्ने कार्य गर्दछ ।े ।
