अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
स्थानीय समयअनुसार २२ नोभेम्बरको मध्यराति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चार मध्ये २ जनाको मृत्यु भएको अमेरिकास्थित नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् ।
मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका(७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी रहेको पुष्टी भएको छ। कार चालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको समाचारमा उल्लेख छ।
त्यहाँको प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ।
त्यस्तै कारचालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको र दुई जनाको हत्या अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको समाचारमा उल्लेख छ।त्यहाँको प्रहरीसँग एनआरएनए भर्जिनियाका पदाधिकारीहरूले समन्वय गरिरहेको पनि बताइएको छ।