दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि वर्तमान उपाध्यक्ष राजेन्द्रकुमार (आर.के.) शर्माले कतारबाट अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा १७ अक्टोबरदेखि तीन दिनसम्म हुने एनआरएनएको ११औं महाधिवेशन हुँदै छ । महाधिवेशनले नयाँ नेत्रित्व चयन गर्ने छ । त्यसका लागि शर्माले औपचारिक रुपमा कतारबाट उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि महेश श्रेष्ठले काठमाडौंमा औपचारिक रुपमा उम्मेदवारी घोषाणा गरिसकेका छन् ।

दोहास्थित र्याडिसन ब्लु होटलमा मध्यपूर्वलगायत विभिन्न देशका एनआरएनएका अध्यक्षहरु तथा एनआरएनए अभियन्ताहरुलाई साक्षी राख्दै शर्माले आफू अध्यक्ष पदमा निर्वाचित भए २४ महिनामा २४ काम गर्ने बाचासहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
‘गैरआवासीय नेपालीको अभियानः स्वदेशमा लगानी, प्रवासमा सम्मान’ भन्ने मूल नारा समेटेर शर्माले २४ महिने (२ वर्षे) कार्यकालमा आफ्ना २४ कार्ययोजनाहरु समेटेर बाचापत्र पनि सार्वजनिक गरेका छन ।
गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजाने र आफ्नो कार्यकालमा ‘फुटेको होइन, जुटेको एनआरएन’ बन्ने दाबी शर्माको छ ।

बाचापत्र सार्वजनिक गर्दै शर्माले भने, ‘मैले आईसीसीको उपाध्यक्ष भई कार्य गरिसकेकाले अध्यक्षका लागि अनुभव कमाइसकेको छु । त्यही अनुभवलाई उपयोग गर्दै थप जिम्मेवारी उठाउने अठोट गरेको छु । तपाईं हाम्रो सपनालाई साकार पार्ने पवित्र उद्देश्य राखेर गैरआवासीय नेपाली अभियानको नेतृत्व लिने संकल्प गरेको हुँ ।’
‘मैले योजनाबद्ध रुपमा कार्य गर्ने लक्ष्य राखेको छु । ती लक्ष्य र कार्ययोजनालाई समेटेर यो बाचापत्र सार्वजनिक गरेको छु,’ उनले भने ।
आफूले सार्वजनिक गरेका कार्य र त्यसमा भएका प्रगतिको समीक्षात्मक टिप्पणी त्रैमासिक रुपमा सार्वजनिक गर्ने उनले बाचा समेत गरे ।
शर्माले विदेशमा बस्ने नेपाली श्रमिकहरुलाई सामूहिक लगानी कोषमा आबद्ध गराउने र श्रम बेचेर स्वेदश फर्किने नेपाली श्रमिकहरुको भविष्य सुरक्षित गराउन विशेष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
२४ बाचापत्रमा के छ ?
वैदेशिक रोजगार : दक्ष जनशक्ति, सुरक्षित वातावरण, हाम्रो नीति : सुधारौं श्रमिकको आर्थिक स्थिति, विप्रेषणको प्रयोग कहाँ, उत्पादनमूलक उद्यम हुन्छ जहाँ, एनआरएनएको निरन्तर खटन : ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन आफ्नो बाचा पत्रमा उल्लेख गरेका छन् ।
गैरआवासीय सरोकार : जहाँ भए पनि नागरिकता र मताधिकार, नेपाल समृद्धिको दस्ता : गैरआवासीय दोस्रो पुस्ता, अबको समृद्धि : जगेर्ना गरौँ भाषा र संस्कृति, एनआरएनए शक्ति : अधिकारसम्पन्न एनसीसी, विदेशमा सिकेको ज्ञान : देश निर्माण अभियान, देश विकासको बल : एक एनसीसी, हजार पर्यटक , घटाऔं वैदेशिक श्रम, फर्किनेलाई स्वरोजगार कार्यक्रम, अग्रजलाई सम्मान : युवा परिचालन र विज्ञबाट ज्ञान, नेपाली धन, नेपाली श्रम : अबको उद्यम, समावेशी अभियान : महिला सदस्यलाई प्रोत्साहन, चुस्त व्यवस्थापन मुख्य सरोकार : बनाऔँ प्रभावकारी सञ्चार र योजनाबद्ध कार्यान्वयन : न्यायपूर्ण कार्यसम्पादन मूल्यांकन नारासहितको आफ्नो कार्यक्रम अघि सारेका छन् ।
सांगठनिक पुनर्संरचना : पहिला कार्यदलबाट गहन योजना, मानव संशोधन : सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासन : शून्य सहनशील स्वअनुशासन, एनआरएनए निर्वाचन : सबैले गर्न पाउन् मतदान, आर्थिक कूटनीति : लगानी प्रवर्द्धन मुख्य नीति, गरौँ उच्चतम् प्रयोग सूचना प्रविधि : हुन्छ विकास र समृद्धि, नेपाली रोजौं, नेपाली खोजौं : निर्यात बढाउन जोडतोडले लागौं नारासहितको कार्यक्रम आफ्नो बाचापत्रमा समेटेका छन् ।
शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन् । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको सल्लाहकारदेखि आईसिसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरे ।
हाल उनी संघको आईसीसी उपाध्यक्ष हुन् । बाग्लुङमा वि.सं. २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा पैसा उठाउन भनेर कतार पुगेका थिए ।
कतारमा पैसा लिनुपर्ने मान्छे नभेटेपछि उनले त्यहीँ नै एउटा निर्माण कम्पनीमा रुपमा जागिर सुरु गरेका शर्मा हाल त्यहा एक सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन् ।
