२०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको पाईएकाे छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी रु ८८ अर्ब ५९ करोड र त्यसपछि क्रमशः चीनबाट रु ३३ अर्व ४५ करोड, आयरल्याण्डबाट रु २० अर्ब ९० करोड, सिङ्गापुरबाट रु १६ अर्ब ७ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट रु.१५ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भएकाे पाईएकाे हाे ।
नेपाल राष्ट्र बैकले ‘प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८ / ७९’ सार्वजनिक गर्दै यस्ताे तथ्यांक निकालेकाे हाे । लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुऱ्याउने उद्देश्यले बैककाे आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।
आर्थिक वर्ष २०७८/ ७९ मा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन तयार पारिएको हाे ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८/ ७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई रु.२६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको छ ।
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअर्न्तगत जलविद्युत् क्षेत्रमा ३२८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसै गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तंगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको छ ।
