काठमाण्डौँ। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंमा सुरु भएको छ । ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर कार्यक्रम उदघाटन गरिएको हो । अधिवेशन उदघाटनपूर्व निकालिएको ¥याली रत्नपार्कदेखि अधिवेशन स्थल भृकुटीमण्डपसम्म पुगेको थियो ।
अध्यक्ष पदमा आधा दर्जन बढी नेता आकांक्षी
लुम्बिनीपछि एमालेको बागमती प्रदेशमा पनि नेतृत्वका लागि निर्वाचन हुने देखिएको छ । लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल समूहबीच अघोषित प्रतिस्पर्धा भएजस्तै बागमतीमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यद्वय महेश बस्नेत र गोकुल बाँस्कोटा निर्णायक भूमिकामा छन् ।
बागमती प्रदेशको आइतबारबाट सुरु भएको प्रथम अधिवेशनमा चारजना अध्यक्षका आकांक्षी छन् । तर, अधिवेशनको दिनसम्म सहमतिको विकल्पसहितको ठोस प्रस्ताव नबढेपछि चार आकांक्षीमध्ये दुईजना उम्मेदवारबीच चुनावी प्रतिस्पर्धाको सम्भावना छ ।
एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित पाँच पदाधिकारीका लागि अहिलेसम्म ३० जनाभन्दा बढीले आकांक्षा राखेका छन् । अध्यक्षमा सर्वसम्मत नहुँदा उपाध्यक्षसहितका पदहरूमा अन्तिमसम्म कम्तीमा डेढ दर्जन उम्मेदवारका बीचमा प्रतिस्पर्धा हुने बागमतीका एमाले अगुवा नेताहरूको बुझाइ छ ।
अहिलेका अध्यक्ष केशव पाण्डे, बागमती प्रदेश सभाका पूर्वसभामुख सानुकुमार श्रेष्ठ तथा केन्द्रीय सदस्यद्वय कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले नेतृत्वका लागि दाबी गर्दै अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, सुरेन्द्र पाण्डे र महासचिव शंकर पोखरेलसहित नेता र प्रतिनिधिसँग लबिङ गरिरहेका छन्। तर, श्रेष्ठ, पौडेल, पाण्डे र पोखरेलले औपचारिक रूपमा कसैको नाममा सर्वसम्मतको संकेत नदिएपछि अन्तिममा चार आकांक्षीमध्ये दाहाल र ढुंगेलबीच चुनावी प्रतिस्पर्धाको सम्भावना बढेको हो ।
ढुंगेलले सर्वसम्मतिका लागि प्रयास भइरहे पनि चुनावी प्रतिस्पर्धा हुँदा पनि उम्मेदवारी मनोनयन गर्ने मानसिकताका साथ तयारी अवस्थामा रहेको बताए । अध्यक्षका अर्का दाबेदार दाहालले प्रतिनिधिको विश्वास जितेर नेतृत्व लिन चाहेको बताउँदै आएका छन्।
अहिलेका अध्यक्ष पाण्डे र बागमती प्रदेशका पूर्वसभामुख श्रेष्ठ भने नेतृत्वले सर्वसम्मत अगाडि सारे वा चुनावी प्रतिस्पर्धाको मनस्थिति बनाउन निर्देशन दिए मात्रै उम्मेदवार उठ्ने तयारीमा छन् । स्थायी समिति सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले नेतृत्वका लागि सर्वसम्मति जुटिनसके पनि अझै आशा राखेर प्रयास गरिने बताए । तर, सहमति नभएमा भने निर्वाचनबाटै नेतृत्व चयन हुने उनले प्रस्ट्याए ।
अधिवेशनमा एक हजार एक सय ३८ जना प्रतिनिधि सहभागी छन्।
