दोहा । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले छिट्टै कतारबाट मतदाता नामावली संकलनको कार्य सुरु हुने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रदान गर्नेसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले विदेशमा पहिलो मुलुक कतारबाटै मतदाता नामावली संकलनको थालिनी गरिने बताए ।
आयुक्त थपलियाले आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने व्यवस्था गर्न प्रस्ताव गरिसकेको जानकारी दिए । विदेशस्थित नेपाली दूतावासमा उपस्थित भएर आफ्नो मतदाता नामावलीमा नाम लेखाउन सकिने, दूतावासबाट टाढा रहेको क्षेत्रमा पनि दूतावासले टोली पठाएर नामावली गर्न सक्ने र नामावली संकलन गर्न सरकारी कर्मचारी नै हुनुपर्ने बताए ।
विदेशमा बस्ने नेपाली मतदातालाई मताधिकार दिन नसकेको भन्दै त्यो सुनिश्चित गर्नका लागि अबदेखि नेपाली जुन मुलुकमा बसेको छ, उसले रोजेको दुई ठाउँबाट मतदान गर्नसक्ने व्यवस्था गर्न लागेको बताए ।
‘नेपालमा बस्नेको एक ठाउँमा मात्र मतदाता नामावली हुन्छ, तर विदेश बस्नेको दुई ठाउँ नामावली हुन्छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘दुई ठाउँमा नामावली भएपछि निर्वाचनको दिन त्यो व्यक्ति नेपालमा भएको खण्डमा नेपालमै आफ्नो मत हाल्न पाउँछ, यदि ऊ त्यस समयमा विदेशमा छ भने विदेशबाट पनि मत हाल्ने व्यवस्था गर्न लागिएको हो ।’
थपलियाले विभिन्न ८४ मुलुकमा रहेका नेपाली भएको ठाउँबाट मतदाता नामावली संकलनको कार्य थालिने भए पनि सुरुमै सबै मुलुकमा सम्भव नभए पनि कतारसहित केही मुलुकमा आगामी जनवरीबाट नामावली संकलन गरिने बताए । निर्वाचन आयोगले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउनुपर्ने व्यवस्था मिलाउन प्रस्ताव गरिसकेको समेत उनले बताए ।
आयोगको गत १८ असारमा बसेको बैठकले सम्बन्धित मुलुकमा रहेको कूटनीतिक नियोगबाट भोट खसाल्न सकिने बनाउन प्रस्ताव गरेको जानकारी दिए । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत यस्तो व्यवस्था गर्न प्रस्ताव गरिएको उनले बताए ।
यसरी मतदान गर्नेहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ मताधिकार प्रयोग गर्न पाइने व्यवस्था गर्न सकिने उनले बताए । यस्तै, उनले प्रत्यक्ष निर्वाचनका लागि पनि अनलाइन भोटिङमार्फत आफ्नो मत हाल्न पाउने व्यवस्था गर्न आयोग लागिपरिरहेको बताए ।
आफू विगत ३६ वर्ष सरकारी सेवामा रहेको र विभिन्न मन्त्रालयको अनुभव सम्हाल्दै निर्वाचन प्रमुख भएकाले आफू यस पदमा रहेकै बेला विदेशमा बस्ने नेपालीले पनि आफ्नो मत हाल्न पाउने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले २०८४ सालमा हुने निर्वाचनमा विदेशबाट आफ्नो मत हाल्ने पाइने बताए । विदेशमा बस्ने नेपालीले स्थानीय तहको निर्वाचनमा मत हाल्न असम्भव हुने भन्दै प्रदेश र संघको निर्वाचनमा भने मत हाल्न सम्भव रहेको उनको भनाइ थियो ।
उनले कार्यक्रममा सहभागीले सोधेका प्रश्नको जवाफ पनि दिएका थिए । यसैबीच बिदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन हुने र भोट् हाल्न पाउने बिषयमा भने विश्वास गर्न सकेका छैनन ।
कतारबाट योगेन्द्र योगीको सहयोगमा
