काठमाण्डौँ । तीनकुनेस्थित गैह्रीगाउँमा भएको चारजनाको सामूहिक हत्याको छानबिनका लागि प्रहरीले अनुसन्धान समिति गठन गरेको छ ।
एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानविन समिति गठन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । समितिमा प्रहरी नायब उपरीक्षकहरु हरि खतिवडा, सुवास खड्का र सुरक्षा केसी तथा प्रहरी निरीक्षक वीरेन्द्र केसी समेत रहेका छन् ।
शुक्रबार बेलुका करिब १० बजे तीनकुनेस्थित दिव्य मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। यीमध्ये कुमार, अम्बिका र शुभद्रा एकै परिवारका सदस्य हुन्।
हत्यामा संलग्न दीपेन्द्र राईले प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् भने थप तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु सबै लागुऔषध दुर्व्यसनी रहेको प्रहरीको भनाइ छ।