काठमाण्डौ । रोजगारीका लागि कुवेत पुगेका ४ हजार भन्दाबढी नेपाली महिला कामदारहरुले कम्पनिविरुद्ध आन्दोलनमा उत्रिएका छन । काठमाडौँको निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत करिव एक बर्ष अघिमात्र कुवेत पुगेका उनीहरुले नेपालमा गरिएको सम्झौता अनुसार तलब सेवा सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका हुन ।

म्यानपावरलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनीहरुलाई सुरु देखि नै सम्झौता अनुसारको तलव नदिएको, १६ घण्टा काम गरे बापत १५० कुवेती दिनार सम्झौता गरेर पठाएको भएपनि ८ घण्टा काम गरे बापत ७५ केडी मात्र दिएको उनीहरुको भनाइ छ । साथै कम्पनी बन्द भएपछि अर्को कम्पनिमा सारेर पनि तलब सेवा सुविधा नदिएको पीडित हरुको भनाइ छ । उनीहरुलाई सुरुको कम्पनी बन्द भएपछी वेल अल नुसिफ ट्रेडिंग कम्पनीमा सारीएको थियो ।

सारीएको नयाँ कम्पनीले ९ महिनासम्म ७५ केडी तलव दिनु पर्नेमा त्यो पनि काटेर ५५-६० केडी मात्र दिएको आन्दोलनरत संगीता थापाले जानकारी दिईन् । नयाँ कम्पनीमा कुवेती सिभिल आइडी बनाउन लाग्ने खर्च २५६ केडी पनि कम्पनीले आफुहरु सँग मागेपछी उनीहरु आन्दोलित भएका हुन्।
‘हामीले नयाँ कम्पनीलाई सिभिल आइडी लगाईदिए बापत पैसा दिईसकेका छौ, फेरि २५६ केडी माग्छ, त्यो पनि १५ दिन भित्रमा दिनुपर्ने रे, थापाले भनिन्’, ‘हाम्रो तलव मासिक ७५ केडी छ अनि १५ दिन भित्र २५६ केडी कहाँ बाट कसरी ल्याएर दिने ? कम्पनीको केन्द्रिय कार्यालय पुग्दा कम्पनीले पैसा मागेको छैनौ भन्छ तर साइड हेर्ने म्यानेजरहरुले सक्दो छिट्टो पैसा दिनु नभए हवाई टिकट लीएर आउनु’ पासपोर्ट दिन्छु नेपाल जानु भन्छ हामी के गर्ने ?’

पीडितहरुले नयाँ आइडी बनाउदा लागेको शुल्क हरेक महिना १०-१५ केडीका दरले कटौती गर्न भने पनि कम्पनीका प्रतिनिधिहरुले नटेर्दा आफुहरु आन्दोलन गर्नु बाहेक अरु उपाय नभेटेको उनीहरुको भनाइ छ ।
सोही कम्पनीले अन्य मजदुर क्याम्पमा रहेका अन्य कामदारहरुलाई समेत लामो समयदेखि तलव नदिएको र दिएपनि पाउनु पर्ने तलव नपाएको उनीहरुले गुनासो गरेका छन् । त्यसरी समस्यामा पर्नेहरुमा झन्डै ४,५ हजार जना सम्म रहेको उनीहरुको भनाइ छ ।
कम्पनीले श्रमशोषण गर्न लागेको थाहा पाएपछि आफूहरुले काम बन्द गरेर कम्पनी बिरुद्ध आन्दोलन गरेको उनीहरुले बताएका छन् । कम्पनी विरुद्ध नाराबाजी गर्दै कार्यालय सम्म पुगेका उनीहरुलाई सोमबार साझ कुवेत प्रहरीले नियन्त्रणमा लिएको थियो ।

कम्पनीले प्रहरी बोलाएपछि सबैलाई केहि समय नियन्त्रणमा लिएको र केहीलाई छोडेपनि नेपाली महिलाहरु माथि दुर्ब्यबहार भएको पीडित महिलाहरुको भनाइ छ । स्थानीय प्रशाशनले कम्पनीसँग छलफल गरेर समस्या समाधान गर्ने र त्यो बेला सम्म पीडितहरुलाई समस्या श्रीजना नगर्न अनुरोध गरेको पीडितहरुको भनाइ छ ।
आन्दोलनरत उनीहरुले दुई बर्ष पनि नपुगेकाको आइडी बनाए बापतको शुल्क नतिर्ने, ब्लक गरिएको सिभिल आइडी खोली दिनुपर्ने, सम्झौता अनुसारको तलब सेवा सुविधा समयमै दिनुपर्ने, दिन नसके कम्पनीलेनै हवाई टिकट दिएर नेपाल फर्काउनु पर्ने माग राखेका छन ।
दुतावासले पनि सुनेन
आन्दोलनरत कामदार मध्ये प्रतिनिधि बनेर कतिपय त्यहारहेको नेपाली दूतावासमा सहयोग माग्दै पुगे पनि दुतावासले आफुहरुको सुनुवाई नगरेको पीडितहरुले बतएका छन । दुतावासले आन्दोलनमा उत्रिनु गलत भएको भन्दै सहयोग नगरेको उनीहरुले आरोप लगाएका छन् ।
कामदारको समस्याबारे आफुहरु जानकार रहेको भन्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कुवेतका अध्यक्ष रानाध्वज लामाले समस्या समाधानका लागि पहल भईरहेको बताए । ‘समस्या भएको सत्य हो, ‘दूतावाससँग समन्वय भईरहेको छ सम्भव त चांडै समस्या समाधान हुन्छ’ अध्यक्ष लामाले भने।
यस्तै बिनोद कुवंर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदीले पनि समस्याको समाधान छिट्टै हुने बताए । यसैगरी नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले समस्या तुरुन्तै समाधान गर्न एनआरएनए कुवेत, त्यहाँ क्रियासिल विभिन्न संघ-संस्थाहरुलाई अनुरोध गरेका छन् ।
‘पीडित महिलाहरुले आन्दोलन गरेको भिडियोहरु सामाजिक संजालमा छरपस्ट भएका छन भने कतिपय भिडियोहरुमा महिलाहरुलेनै अपशब्द बोलेको, तथा अशोभनिय व्यबहार गरेको देखिन्छ’ दुतावास स्रोतले भन्यौ । खाडी मुलुकमा आन्दोलनलाई बन्देज गरिएको र समस्या भए दुतावासमा समयमै लिखित निवेदन, वा मौखिक भएपनि जानकारी गराए समाधान गरिने दुतावासको भनाइ छ ।