विगत पाँच बर्षको अवधिमा १९ लाख नेपाली युवा वैदेशिक रोजगारीको लागि विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार १७ लाख ३२ हजार ९४२ पुरुष र एक लाख ६७ हजार २२४ महिला विदेशिएका छन् ।
तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९/८० मा सबैभन्दा धेरै युवा विदेशिएका छन् । सो आवमा मात्रै सात लाख ७१ हजार ३२७ युवा रोजगारीकै सिलसिलामा विदेशिएका हुन् । जसममा पुरुषको संख्या ६ लाख ९९ हजार १९३ छ भने महिलाको संख्या ७२ हजार १३४ रहेको छ ।
आव २०७८/७९ मा ६ लाख ३० हजार ९७ युवा वैदेशिक रोजगारीमा गए । आव २०७७/७८ मा पनि जम्मा ७२ हजार रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ । सो अवधिमा कोभिड महामारीका कारण सबै मुलुकहरुले हवाई उडान बन्द गरेका थिए । नेपालले पनि हवाई उडान बन्द गरेपछि वैदेशिक रोजगारीमा जानेको संख्या ह्वातै घटेको हो । आव २०७६/७७ मा भने एक लाख ९० हजार ४५३ युवा वैदेशिक रोजगारीमा गए भने आव २०७५/७६ मा दुई लाख ३६ हजार २०८ युवा रोजगारकिो लागि विदेशिएका थिए ।
वैदेशिक रोजगारीको लागि नेपाली श्रमिकहरुको मुख्य गन्तब्य खाडी मुलुक र मलेसिया पर्ने गरेको छ । वैदेशिक रोजगारीमा जानेमध्ये ८० प्रतिशत नेपाली श्रमिक खाडी र मलेसिया गएको पाईन्छ ।
विगत पाँच बर्षको अवधिमामा १४ लाख ४६ हजार ७१ श्रमिक (नयाँ श्रम स्वीकृती लिएका मात्रै) खाडीका विभिन्न मुलुक र मलेसिया गएको देखिन्छ । विभागको तथ्यांक अनुसार यि मुलुकमध्ये पनि विगत पाँच बर्षको अवधिमा तीन लाख ३० हजार ५२१ नेपाली श्रमिक कतार पुगेका छन् । विभागको तथ्यांक अनुसार खाडी मुलुकमध्ये कतारमा सबैभन्दा धेरै नेपाली श्रमिक गएका छन् । गत आव २०७९/८० मा कतारमा ४० हजार ५१७ नेपाली श्रमिक पुगे । आव २०७८/७९ मा ७६ हजार ८२३, आव २०७७/७८ मा २२ हजार १३१, आव २०७६/७७ मा २९ हजार ८३५, आव २०७५/७६ मा भने एक लाख ६१ हजार २१५ जना नेपाली श्रमिक गए । पछिल्लो समय खाडी मुलुकमध्ये कतार आर्थिक रुपमा सबल बन्दै गएको छ । यो मुलुकले अन्तराष्ट्रिय श्रम संगठन अनुसार आप्रवासी श्रमिकलाई पनि सेवा सुविधा दिन थालेपछि कतार आप्रवासी श्रमिकका लागि आकर्षण बन्न थालेको छ । त्यस्तै, कतारले हालै सम्पन्न गरेको विश्व कपको लागि आवश्यक पूर्वाधार निर्माण गर्न धेरै आप्रवासी श्रमिक भित्राएको थियो ।
कतार पछि नेपाली श्रमिकको मुख्य गन्तब्यमा मलेसिया परेको छ । विगत पाँच बर्षको अवधिमा मलेसियामा तीन लाख २६ हजार ८६८ नेपाली श्रमिक मलेसिया पुगेका छन् । मलेसिया सरकारले गत बर्ष मात्रै आप्रवासी श्रमिकको पारिश्रमिक वृद्धि गरेको छ । कोभिड पछि यो मुलुकले बहुराष्ट्रिय कम्पनीहरुलाई भित्राएको छ । जसका कारण श्रमिकहरु मलेसिया तर्फ आकर्षित हुन थालेका छन् । यसका साथै मलेसियाको हावापानी नेपालसँग मिल्दाजुल्दो छ । खाडी मुलुकको तुलनामा यो मुलुकमा आप्रवासी श्रमिकलाई स्वतन्त्रता हुने हुँदा पनि नेपाली श्रमिकहरु मलेसिया जाने गरेका छन् ।
यसका साथै साउदी अरबमा विगत पाँच बर्षमा तीन लाख ६१ हजार ६६७ जना नेपाली श्रमिक गएका छन् । भौगोलिक रुपमा साउदी अरब अन्य मु्लुकको तुलनामा ठूलो छ । साउदी सरकारले नयाँ नयाँ पूर्वाधार निर्माण र कम्पनी सञ्चालनमा प्रोत्साहन गरेको हुँदा यो मुलुकले धेरै आप्रवासी कामदार भित्राएको छ । यद्यपी साउदी अरबसँग नेपाल सरकारले श्रम सम्झौता गरेको छैन । विगत १० बर्ष देखि सम्झौताको तयारी गरे पनि हालसम्म सम्पन्न हुन सकेको छैन ।
विगत पाँच बर्षमा युनाईटेड अरब इमिरेट्समा दुई लाख ९६ हजार ५४७ नेपाली श्रमिक गएका छन् । नेपाली श्रमिकको लागि युएई आकर्षण गन्तब्य हो । आप्रवासी कामदारका लागि यो मुलुकले खुकुलो. नीति बनाएको छ । भिजिट भिसामा जाने व्यक्तिले पनि सजिलै वर्किगं भिसा परिवर्तन गर्न पाउने भएपछि पछिल्लो समयम भिजिट भिसा हुँदै युएई जानेको संख्या बढेको छ ।
सो अवधिमा ८९ हजार १६८ नेपाली श्रमिक कुवेत पुगेको विभागको तथ्यांक छ । २६ हजार ६६९ बहराईन गए भने १५ हजार ३३१ जना ओमान पुगेका छन् ।
