काठमाडौं । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीश सपना प्रधान मल्ल, डा.कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले हिक्मत कार्कीको रिटमाथि सुनुवाई गर्दै उद्धव थापाले लिएको विश्वासको मत संविधानविपरीत रहेको ठहर गर्दै कोशीमा ४८ घण्टाभित्र ठूलो दलको नेताको नेतृत्वमा मन्त्रिपरिषद गठन गर्न आदेश दिएको हो ।
यसैबीच सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै उनी पदमुक्त हुने आदेश दिएको थियो ।
थापाले प्रदेशसभामा मत बराबर नभएको अवस्थामा सभाध्यक्षलाई प्रयोग गरेर लिएको मत असंवैधानिक भएसँगै उनी मुख्यमन्त्रीबाट पदमुक्त भएका हुन् ।
