सप्तरी – सप्तरीबाट निर्वाचित प्रदेश सांसद अनिरुद्रप्रसाद सिंह यादव पुर्पक्षका लागि थुनामा गएका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले यादवलाई थुनामा राखेर पुर्पक्ष गर्ने आदेश भएको हो ।
१६ वर्षदेखि मुलतबीमा रहेको मुद्दामा प्रहरीले हिजो साेमवार राजविराज–७ बाट यादवलाई पक्राउ गरेको थियो । यसअघि जनता समाजवादी पार्टीमा रहेका यादव गएको प्रदेशसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र उम्मेदवार भई विजयी भएका थिए ।
जिल्ला प्रहरी कार्यालयको रेकर्डमा उनी २०६४ असार १४ गतेदेखि नै फरारको सूचीमा थिए । सरकारी वकिल कार्यालयले सप्तरी जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा २०६४ असार ९ गते तत्कालीन खोक्सरप्रवाह–१ का ३२ वर्षीय दिपु भन्ने गोविन्द चौधरीको हत्यामा यादवको पनि संलग्नता रहेको उल्लेख छ ।
मृतककी दिदी रीताकुमारी चौधरीले २०६४ असार १४ गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा यादवसमेत नौ जनाको नाम उल्लेख गरेर किटानी जाहेरी दिनुभएकाे थियाे ।
