आबुधावी। संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइएको छ। ठकुरी सहयोग समाज यूएई र अन्तर्राष्ट्रिय कलाकार समाज (इनास यूएई) अबुधावी क्षेत्रीय समितिको संयुक्त आयोजनामा उक्त दिवस मनाइएको हो।
अबुधावीस्थित विविटी नेपाली रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा यूएईमा सक्रिय विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सर्वसाधारण नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

इनासका अन्तर्राष्ट्रिय प्रतिनिधि केशव शर्मा नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण तथा दियो प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। सो अवसरमा पण्डित नारायण डुम्रे मार्फत सामुहिक रुपमा कुलपितृ पूजा तथा स्तुति वाचनमार्फत सम्मान प्रकट गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले नेपाल एकीकरण गरी वर्तमान नेपालको पहिचान दिलाउने पृथ्वीनारायण शाहको योगदान अमूल्य रहेको उल्लेख गर्दै, उनको पृथ्वीपथलाई वर्तमान अवस्थामा अनुशरण गर्नु नै साँचो देशभक्ति र राष्ट्रप्रेमको परिचायक हुने धारणा व्यक्त गरे।
कार्यक्रममा पृथ्वीनारायण शाहको सम्झनामा एक मिनेट मौनधारण गरिनुका साथै सोही दिन दिवंगत कलाकार प्रशान्त तामाङको स्मृतिमा समेत एक मिनेट मौनधारण गरिएको थियो।
सोहि अवसरमा नेपाल देश, पृथ्वीनारायण शाह र नेपालको इतिहाससम्बन्धी प्रश्नोत्तर कार्यक्रमसमेत सञ्चालन गरिएको थियो, जसले सहभागीहरूको विशेष रुचि र प्रशंसा पाएको थियो। कार्यक्रम संयोजक रामु शाही ठकुरीले तयार पारेका प्रश्नहरूले नेपालको भूगोल, इतिहास, अर्थ तथा पृथ्वीपथसम्बन्धी ज्ञान अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका थिए।

त्यस्तै, प्रवासी नेपाली एकता समाज यूएईले दुबईमा विशेष कार्यक्रमको आयोजना गरी ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको समाजले जनाएको छ।

कार्यक्रममा गायिका कविता रानाभाटले ‘प्राण भन्दा प्यारो लाग्छ मलाइ मेरो देश’ स्वदेशगान प्रस्तुत गरेकी थिइन् भनेविरू ओलीले अखण्ड नेपाल नामक कविता दुइ कविता वाचन गरेका थिए।

