काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय भएको छ ।
दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा प्रतिबद्दता जनाएअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाली श्रमिकहरूको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका अलग्गै वार्ड स्थापना गर्ने प्रतिबद्दता जनाएका थिए ।
मन्त्री पौडेल यूएई आएको बेला नेपाली दुतावासका अधिकारी, तथा दुबईमा जनसंपर्क समितिले आयोजना गरेको कार्यक्रममा समेत यस्तो ब्यबस्था गर्न संघसस्थाका प्रतिनिधिहरुले सुझाव दिएका थिए । मन्त्री पौडेलले यस् बिषयमा आफ्नो गम्भिर ध्यानकर्षण भएको नेपाल फर्किए लगत्तै निर्णय लिने बताएका थिए ।
सोही अनुसार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम थाल्ने निर्णय गरेको हो ।
केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अब वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको स्वास्थ्य परीक्षणका लागि केन्द्रले बेग्लै निःशुल्क ओपीडी वार्ड स्थापना गर्ने निर्णय गरेको बताए । वैदेशिक रोजगारीबाट फर्केका जोकोहीले केन्द्रमा गएर निःशुल्क परीक्षण गराउन सक्ने उनले बताए ।
यसैगरी केन्द्रले वैदेशिक रोजगारीमा जानेका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने अभिमुखीकरण तालिममा नसर्ने रोगसम्बन्धी जानकारी र बच्न अपनाउन सकिने उपायबारे जानकारीका लागि विज्ञ चिकित्सक खटाउने भएको छ । वैदेशिक रोजगार बोर्डलाई नसर्ने रोगसम्बन्धी जानकारीमूलक सामग्रीसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।
यसैगरी, विदेशमै रहेका बखत देखिएका स्वास्थ्य समस्या समाधानका लागि बेग्लै हटलाइन नम्बर र सामाजिक सञ्जालबाट परामर्श दिनका लागि ड्युटीमा रहेका मेडिकल अधिकृतलाई धर्मभक्तले खटाउने भएको छ ।
यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि वैदेशिक रोजगार विभागबाट अनुरोध आएमा लागत खर्चमा मात्र परीक्षण रिपोर्टसमेत उपलब्ध गराउने निर्णय केन्द्रले गरेको छ ।
यी निर्णयहरू कार्यान्वयनमा आएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्यमा निरोधात्मक तथा उपचारात्मक दुवै सुधार हुने भएकाले अहिले देखिएको स्वास्थ्य समस्यामा कमी आउने मन्त्रालयको विश्वास रहेको प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।