विश्वभर छरिएका नेपाली सेफहरुको आयोजनामा पहिलो पटक नेपाली फुड फेस्टिवल हुदैँछ । फेस्टिवलमा विश्वभर कार्यरत सोतो कोट लगाउने सेफहरु (नेपाली भान्से ) एकैठाँउ भेला हुदैछन् । नेपाली सेफ सोसाइटी र अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनाका फुड फेस्टिवल हुन लागेको हो ।
आगामी वैशाख ६ गते भृकुटीमण्डपस्थित प्रर्दशनी मार्गमा हुन लागेको कार्यक्रमको तयारीमा यतिबेला विश्वभरका नेपाली भान्सेहरु जुटेका छन् । कार्यक्रममा मध्यपुर्व , युरोपका विभिन्न मुलुक, अमेरिका लगायत ३६ देशमा कार्यरत ५ हजार सेफ प्रतिनिधीरुले सहभागीता जनाउदै छन्। जसमा नेपाल पर्यटन वार्ड,पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोग रहने अन्तराष्ट्रिय सेफ सोसाइटीका केन्द्रिय संयोजक अरुण अधिकारीले जानकारी दिए ।

फेस्टिवलले सेफहरूलाई एकताबद्ध गर्ने र नेपाली खाना संस्कृतिलाई विश्वभर प्रवद्र्धनमा मद्दत गर्नेछ । साथै नेपाली सेफहरूबीच सञ्जाल निर्माण अन्तराष्ट्रिय स्तरमा कार्यरत नेपाली सेफहरूलाई एकत्रित गरेर अनुभव आदान–प्रदान गर्ने, नेपाली परिकारहरूलाई विश्व बजारमा चिनाउने तथा सेफहरूका पेशागत चुनौती र अवसरहरूबारे छलफल गर्न मञ्च उपलब्ध गराउने उद्देश्यले फेस्टिवल हुन लागेको संयोजक अधिकारीले बताए ।
फेस्टिवलमा देश तथा विदेशका गरी ४० वटा खानाका स्टल राखिनेछ । जसमा नेपाली सेफहरुले अन्तराष्ट्रिय बजारमा तयार पार्ने खानाको स्वाद लिन पाइने अधिकारीले बताए।

यस्तै नेपाली खानाको माध्यमबाट नेपालका सांस्कृतिक पक्षलाई विश्वसामु पु¥याउन मद्दत पुग्ने उनको भनाई छ । फेस्टिवलमा नेपाली परम्परागत परिकारदेखि आधुनिक परिकारहरूको प्रदर्शनी,सेफहरूका लागि नयाँ कौशल र प्रविधिको ज्ञान, सेफ अवार्डः उत्कृष्ट सेफहरूलाई सम्मान, सोसाइटीको किताव विमोचन , राष्ट्रिय कलाकारहरुको उपस्थितिमा नेपाली गीत–संगीत र लोपउन्मुख झाकीँ सहितका नृत्य कला प्रस्तुत गरिनेछ।

प्रथम महाधिवेशनको तयारी
यस्तै अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको प्रथम महाधिवेशनको तयारी थालिएको छ । काठमाण्डौँमा हुने महाधिवेशनले विश्वभरका सेफहरुको उपस्थितिमा आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशन अघि अहिले विभिन्न मुलुकमा अधिवेशन चलिरहेको छ।
हाल ११ देशमा अधिवेशन सम्पन्न भएको र बाँकी देशमा पनि भइरहेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका प्रवक्ता युवराज तामाङले जानकारी दिए। नेपाली सेफ सोसाइटीले नेपालभित्र र नेपाल बारिहका देशमा रहेका नेपाली भान्सेहरुलाई एकतावद्ध गदै आएको छ ।

२०१८ मा युएईबाट सुरु भएको सेफ सोसाइटी अहिले ३६ देशमा संगठीत भएको छ । सेफ सोसाइटी नेपाल सरकार परराष्ट्र मन्त्रालयमा दर्ता समेत भएको छ ।

