बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बाको हत्यामा राष्ट्रिय अनुसन्धान विभागका एक जना कर्मचारीको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ मा गएको ६ पुसमा बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारभित्र रुम्बा मृत भेटिएका थिए ।लगत्तै अनुसन्धानका लागि खटिएको टोलीले प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत श्रीकान्त तिवारीको संलग्नता फेला परेको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए ।
उनी राष्ट्रिय अनुसन्धान विभाग बारा दरबन्दी भइ विमानस्थल कार्यालय, सिमरा बारामा कार्यरत रहेको बाराका डीएसपी प्रकाश सापकोटाले जनाए।
हत्यामा संलग्नता रहेको आधारहरु फेला परेपछि प्रहरीले तिवारीसँगै बारामा जय माँ इन्जियरिङ वर्कसप चलाउँदै आएका पुरुषोत्तम कुमार दास र इन्द्रजित कुमार चौहानलाई पनि पक्राउ गरेको छ । शव भेटिएको गाडी समेत राअविका अनुसन्धान अधिकृत तिवारीको भएको खुलेको छ ।
प्रहरीले दासको वर्कसपबाट मृतकले घाँटीमा लगाएको सुनको सिक्री बरामद भएको बताएको छ भने रुम्बाको पर्स समेत उनको झोलाभित्र भेटिएको भनिएको छ । प्रहरीका अनुसार, रुम्बालाई गोली हानेर हत्या गरिएको खुलेको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।