अजरबैजानको एउटा यात्रुवाहक जहाज काजाकस्तानमा दुर्घटनामा परेको स्थानीय अधिकारीहरूले बताएका छन्। उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको बताइएको छ। जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू थिए ।
अजरबैजान एअरलाइन्सको उक्त जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको थियो। पछि जहाजमा लागेको आगो निभाइएको छ।
काजाकस्तानको आकस्मिक सेवासम्बन्धी मन्त्रालयले उक्त दुर्घटनामा केही मानिसहरू बच्न सफल भएको जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार कम्तीमा ३० जना यात्रुहरू बच्न सफल भएका छन्। त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको थियो।
तस्बिरको क्याप्शन,अजरबैजान एअरलाइन्सको उक्त जहाज खसेपछि उद्धारका लागि आकस्मिक सेवाका अधिकारीहरू नजिक जाँदै गर्दा त्यसमा आगो लागेको थियो ।
कुहिरोका कारण उक्त जहाजलाई काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
अजरबैजान एअरलाइन्सले हालसम्म उक्त घटनाबारे केही पनि बताएको छैन। बीबीसीले उक्त एअरलाइन्सलाई सम्पर्क गरेको छ।
