पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध तीनवटा बेग्लाबेग्लै कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो।
रविविरुद्ध सम्पत्ति शुद्धिकरणको कसूरमा २७ करोड ८९ लाख ४ हजार रुपैया बिगो दावीसहित मुद्दा दर्ता भएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन्।
३ वटै कसुरमा अभियोग दर्ता भएको रविविरुद्ध सम्पत्ति शुद्धीकरणमा मात्र २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो राखिएको छ।
यसअघि शुक्रबार थप ४० करोड २० लाख ७६ हजार १४९ रुपैयाँ बिगोसहित १९ जनाविरुद्ध अभियोग दर्ता भएको थियो। कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो पुगेको छ। सोही विगोमा नै थप ४४ विरुद्ध अभियोग पत्र दर्ता गराएको हो।
साथै पूर्वडीआइजी छविलाल जोशी, जिबीका साझेदार रामप्रसाद खनाल र कर्मचारी लीला पछाईविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसहित सहकारी ठगी र संगठित अपराधको कसुर अभियोग पत्र दर्ता भएको छ।
१९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधको अभियोग दर्ता हुँदा अन्यका हकमा सहकारी ठगीको अभियोग दर्ता भएको छ।
सांसद पद निलम्बनमा
लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा ९२७० बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।
‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ ऐनमा भनिएको छ ।
