प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी प्रविधि व्यवसायी इलन मस्कबीच भर्चुअल संवाद भएको छ । इलनसँग कुराकानी गरिरहेको प्रधानमन्त्री ओलीले शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।
एलन मस्कसँग कुरा गरिरहेको छुु भन्दै प्रधानमन्त्री ओलीले फेसबुकवालमा भिडियो च्याटको तस्बिरसमेत पोस्ट गरेका छन् । उनीहरुबीचको कुराकानीको विषय भने खुलाइएको छैन ।
स्पेस एक्सका कम्पनीका मालिक मस्कले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक सुरु गर्न इच्छा देखाइरहेका छन् ।
विश्वका ६० भन्दा धेरै देशमा गरी २७ लाख प्रयोगकर्ता रहेको इलन मस्कको स्टारलिंक छिमेकी मुलुक भारतमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवा प्रदानका लागि भित्रिसकेको छ ।
तर विदेशी दूरसञ्चार कम्पनीले नेपालमा ८० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने नीतिका कारण अघि बढ्न सकिरहेको छैन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसियन्सी’ को प्रमुखमा नियुक्त्त गरिसकेका छन् ।
