पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचाररत उनको आइतबार निधन भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए।
ढुङ्गाना वरिष्ठ अधिवक्ता तथा २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए उनले२०४८ देखि २०५१ सम्म सभामुखको जिम्मेवारी निर्वाह गरे । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गरेका उनले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाएका छन् । ०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बनेका उनी पत्रकारिता र शिक्षण पेशामा पनि लागे ।
०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी सभामुख बने । ०५१ सालको मध्यावधि चुनावमा विद्या भण्डारीसँग पराजित भएपछि ढुंगाना शान्ति अभियानमा खुलेर लागेका थिए । उनी सरकार-माओवादी शान्ति वार्ताका सहजकर्ता थिए ।
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
यसैबिच, प्रधानमन्त्री के.पी शर्मा ओलीले ढुङ्गानाको निधनप्रति गहिरो दुःख व्यक्त गरृका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु । दिवङ्गत मित्र दमननाथ ढुङ्गानाप्रति हार्दिक श्रद्धाञ्जली, शोकमा रहनु भएका परिवारजनमा गहिरो समवेदना !’
