सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् ।
सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले मन्त्री गुरुङलाई बिजुली काटिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय नमान्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको अडानबारे प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री गुरुङले सरकारले गरेका निर्णयमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्ने कुरा क्षम्य नहुने बताएका हुन् । उनले उद्योगहरूमा विद्युत् बन्द गर्दा मुलुकको औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजस्वमा प्रभाव परेको भन्दै सरकारले सो निर्णय लिएको बताए ।
उनले सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताए ।
राजस्व पनि उठ्नुपर्छ, विद्युत् महसुलको बक्यौता पनि उठ्नुपर्छ । सरकारको यो निर्णय ऊर्जा, जलस्रोत सिँचाइ मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने तदारुकता देखाउनुपर्छ । नेपाल सरकारले गरेका निर्णयबारे कर्मचारीले आफ्नो धारणा राख्न त पाउँछ, तर सरकारको निर्णय कार्यान्वयन गर्दिनँ भनेर कसैले भन्छ भने त्यो क्षम्य हुँदैन, उनले भने ।
यस्तै स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा.गुणराज लोहनीले बुझाएको राजीनामा दुई महिनापछि स्वीकृत भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
२०८० मंसिर १४ मा बोर्ड अध्यक्ष नियुक्त भएका डा.लोहनीले तीन वर्ष दुई महिना कार्यकाल बाँकी रहँदै गएको भदौ २८ गते राजीनामापत्र बुझाएका थिए ।
बोर्डका कार्यकारी निर्देशक डा। युवनिधी बसौलाको समेत सोमबारबाट नै चारवर्षे कार्यकाल सकिएको छ । उनी केहीदिनअघि नै बोर्डबाट बिदा भइसकेका छन् । अध्यक्ष र कार्यकारी निर्देशक दुवै बाहिरिएसँगै बोर्ड तत्काललाई नेतृत्वविहीन बनेको छ ।
