नेकपा एमालेले दुवै छिमेकी देशहरूसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेकोमा जोड दिएको छ ।
शनिबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बद्लिँदो भूराजनीति र अन्तर्राष्ट्रिय कुटनीतिमा विकसित घटनाक्रमहरूबारे छलफल गर्दै एमालेले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको निष्कर्ष निकालेको हो ।
बैठकमा पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकपछि पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले दुई छिमेकीसँगको सन्तुलित सम्बन्ध अघि बढाउनुपर्नेमा जोड दिएको बताए ।
‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ,’ ज्ञवालीले भने, ‘अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।’
उनले बैठकले प्रधानमन्त्री ओलीलाई चीन भ्रमण अधिकतम उपलब्धिमुलक बनाउन शुभकामना दिएको बताए ।
