कांग्रेस, एमाले र माओवादीले स्थानीय तहको उपनिर्वाचनको उम्मेदवार छनोटको तयारी थालेका छन् । स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३ र वडा अध्यक्ष ९ तथा नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडा अध्यक्ष २१ गरी जम्मा ३९ रिक्त पदमा मंसिर १६ मा उपनिर्वाचन हुँदै छ ।
कांग्रेसले बुधबार स्थानीय तह उपनिर्वाचन ०८१ का लागि संयोजन समिति गठन गरेको छ । महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम शर्माको संयोजकत्वमा स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति गठन गरेका हुन् । समिति सदस्यहरूमा सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, जीवन परियार, प्रवक्ता प्रकाशशरण महत छन् ।
कांग्रेस र एमाले सत्ता गठबन्धनमा भए पनि उपनिर्वाचनमा पार्टीले सबै पदमा उम्मेदवार उठाउने कांग्रेसको तयारी छ । कांग्रेसले गत स्थानीय तह निर्वाचनमा ३२९ पालिका जितेको थियो ।
एमालेले कात्तिक २० सम्म पालिका प्रमुख र उपप्रमुख तथा कात्तिक १५ मा वडा अध्यक्ष र सदस्यका उम्मेदवारको नाम सिफारिस गर्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन दिएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपनिर्वाचनका जिल्ला संयोजक, पालिका प्रमुख र उपप्रमुख प्रदेश कमिटी तथा वडाका उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउने बताए । ‘प्रदेश र जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवार तिहारलगत्तै टुंगो लगाई निर्वाचन अभियान सुरु गरिनेछ। एमालेले पनि सबै पदमा एक्लै उम्मेदवारी दिने जनाएको छ । गत स्थानीय निर्वाचनमा एमालेले २०६ पालिका जितेर दोस्रो भएको थियो ।
माओवादीले पनि उपनिर्वाचनका उम्मेदवार चयन सुरु गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए । यो उपनिर्वाचनमा माओवादीले कांग्रेस एमालेबाहेकका दलसँग गठबन्धन गर्ने विकल्प खुला गरेको छ । उसले उम्मेदवारी कात्तिक २५ सम्म टुंगाउन निर्देशन दिएको छ । उम्मेदवारको टुंगो लगाएपछि प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा लेखी पठाउने परिपत्र गरेको छ ।
माओवादीले प्रदेश समितिहरूलाई ‘विशेष परिपत्र’ गरी उपनिर्वाचनमा सकेसम्म एकल उम्मेदवारी दिने उल्लेख गर्दै आवश्यकताका आधारमा सत्तारूढ कांग्रेस एमालेबाहेक वाम–देशभक्त दलसँग सहकार्यका लागि पहल गर्न निर्देशन दिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले काठमाडौंमा भएको खबरदारीसभामा भने आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने बताएका थिए ।
समाजवादी मोर्चामा रहेका दलहरू एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टीसँग सहकाकार्य गरी उपचुनाव लड्ने माओवादीको तयारी छ । आफूले एक्लै जित्ने निश्चित नभएका पालिकामा सहकार्य गर्ने माओवादीले जनाएको छ । गत संघ, प्रदेश र स्थानीय निर्वाचनमा माओवादीले कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतसँग गठबन्धन गरेको थियो ।
नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपाले यही उपनिर्वाचनदेखि नै चुनावमा भाग लिने निर्णय गरिसकेको छ । उपननिर्वाचनमा प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसाग सहकार्य गर्नेरनगर्ने जिम्मा पनि स्थानीय पार्टी समितिलाई दिएको छ ।
रास्वपा, राप्रपा र एकीकृत समाजवादी, जनता समाजवादी, जनमत पार्टीले पनि उम्मेदवार छनोटका लागि गृहकार्य सुरु गरेका छन् । रास्वपाले स्थानीय तहको निर्वाचनमा पहिलो पटक भाग लिन लागेको हो । रास्वपाको भदौ पहिलो साता भएको केन्द्रीय समिति बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको हो ।
महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन
निर्वाचन आयोगले पुरुष निवार्चित भएका पालिका र जिल्ला समन्वय समितिमा महिला उम्मेदवार बनाउन दलहरूलाई निर्देशन दिएको छ । ‘गाउँपालिको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको पदमा २०७९ को निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको अवस्थामा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र दर्ता गर्नर्पुर्नेछ,’ आयोगको निर्देशनमा भनिएको छ ।
मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, ओखलडढुंगा जिल्ला समन्वय समिति प्रमुख, दोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्ष, काठमाडौं कीर्तिपुर नगरपालिका प्रमुख, दैलेख महाबु गाउँपालिका अध्यक्ष, जाजरकोट नलगाड नगरपालिका उपप्रमुख, हुम्ला सर्केगाड गाउँपालिका उपाध्यक्ष, बाजुरा स्वामीकार्तिक खापर गाउँपालिका र कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा उपनिर्वाचन हुँदै छ । ३० वडा अध्यक्षमा पनि निर्वाचन हुँदै छ ।
