काठमाण्डौ – संसदीय सुनुवाई समितिले सरकारले विभिन्न देशका लागि प्रस्ताव गरेका १६ जना राजदूतको नाम पारित गरेको छ । सरकारले विभिन्न देशको लागि १७ जनाको नाम प्रस्ताव गरेकोमा समितिले १६ जनाको नाम पारित गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरुको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्ययोजना र भनाइ सुनेर निर्णय लिइएको बताउनु भयो ।
उहाँले समितिमा छलफल गरी १६ जना राजदूत बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरु अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताउनु भयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा.कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा.नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राख्नुभएको बताउनु भयो ।
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको लागि फरक मत रहेको बताउनु भयो । उहाँले समावेशीता अझै अपूरो रहेको सांसदहरुको गुनासोपछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताउनु भयो ।