काठमाण्डौ – नेपालमा उत्पादन भएको तरकारी आजदेखि कतारमा निर्यात गर्न शुरु भएको छ । चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट नेपाल अफिसको सहयोगमा नेपालको कृषि कार्यक्रम अन्तर्गत पहिलो चरणमा काठमाण्डौको दक्षिणकाली नगरपालिकाभित्र उत्पादित दुई हजार किलो तरकारी आज कतार पठाएको दक्षिणकालीका मेयर मोहन बस्नेतले जानकारी दिनुभयो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिसाल मोहम्मद अली अल अन्सारीलाई तरकारी हस्तान्तरण गरेर निर्यातको शरुवात भएको उहाँले बताउनुभयो । कार्यक्रममा कृषि विभागका महानिर्देशक डाक्टर नरहरीप्रशाद घिमिरेले नेपालबाट कतारका लागि तरकारी निर्यात हुनु निकै खुसीको कुरा भएको बताउनुभयो ।
ग्रामीण विकासका लागि चाइना फाउन्डेसनको कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत दक्षिणकालीमा तरकारी खेती गरिएको थियो । आज कतार पठाइएका तरकारीमा रातो चेरी खुर्सानी (अकबरे), फ्ल्याट बीन्स र करेला लगायतका रहेका छन् । दक्षिणकाली नगरपालिकाका स्थानीय किसानले खेती गरेका उत्पादनले ताजापन र गुणस्तर सुनिश्चित गरेको र कतारको बजारमा रुचाइने नेपालका लागि कतारी राजदूत अन्सारीले बताउनुभयो । – रासस
