काठमाडौं । विश्वभरका इस्लाम धर्मावलम्बीहरूले साउदी अरबको पवित्र तीर्थस्थल मक्कामा गर्ने धार्मिक यात्रा-‘हज’का क्रममा यो वर्ष एक नेपालीसहित एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अरब कूटनीतिज्ञले दिएको जानकारीलाई आधार बनाएर गरिएको गणना अनुसार करिब १० देशका गरी एक हजार ८१ तीर्थयात्रीले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एएफपीले जनाएको छ ।
मक्कामा ५१ दशमलव ८ डिग्री सेल्सियससम्मको तापक्रम रहेको र हिट स्ट्रोक तथा गर्मीजन्य कारणले धेरै तीर्थयात्रीले ज्यान गुमाउनु परेको हो । चरम गर्मी, शारीरिक थकान, ठूलो जमघटलगायतका कारण हजयात्रामा जोखिम थपेको बताइएको छ ।
ज्यान गुमाउनेमा इजिप्टका सबैभन्दा धेरै अर्थात ६५८ जना रहेको र तीमध्ये ६३० जना दर्ता नगराएका तीर्थालु रहेका छन् । यस्तै ६८ जना भारतीय, ३५ जना पाकिस्तानी, १ सय ६५ जना इन्डोनेसियाली, जोर्डनका ४१, ट्युनिसियाका ३५ र इरानका ११ नागरिकले हजका क्रममा ज्यान गुमाएका छन् । त्यस्तै सिनेगल, सुडान र इराकका तीर्थालुले पनि ज्यान गुमाएको बताइएको छ ।
साउदी अधिकारीहरूले पर्याप्त पानी पिउन, छाता ओढ्न तथा दिउँसोको समयमा बाहिर ननिस्कन हजयात्रीहरुलाई सचेत गराएका छन् । हजयात्रीलाई आवश्यक सहयोग गर्न ठूलो संख्यामा चिकित्सकीय टोली र स्वयंसेवक खटाइएको हज अधिकारीहरूले बताएका छन् । गर्मी छल्नका लागि कुलिङ सेन्टर, हाइड्रेसन प्वाइन्ट, पानीको फोहरालगायतको व्यवस्था गरिएको जनाइएको छ ।
यसवर्षको हजयात्राका लागि विश्वभरका १८ लाखभन्दा बढी इस्लाम धर्मावलम्बी मक्का पुगेको साउदीका अधिकारीहरूले बताएका छन् । नेपालबाट पनि बर्सेनि सयौँ मानिस हजयात्रामा जाने गर्दछन् ।
अघिल्लो शुक्रबार अर्थात् जुन १४ मा सुरु भएको हजयात्रा बुधवार अर्थात् जुन १९ मा सकिएको छ ।
