मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भएको भन्दै यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोमा चिन्ता प्रकट गरेका छन् ।
प्रशिक्षणको क्रममा विभिन्न जिल्लाहरुको भ्रमणमा आज गृहजिल्ला हेटौंडा पुग्नुभएका थापाले सन्चारकर्मीहरुसँग कुरा गर्दै अमेरिकी संसदमा समेत नेपालको बारेमा प्रश्न उठेको भन्दै नास्तिकता बढाउन भएको आर्थिक लगानीबारे सरकारले तत्काल छानबिन गरेर कारबाही गर्नुपर्नेमा जोड दिए ।
संघीय धर्म निरपेक्ष गणतन्त्र असफल सावित भएको भन्दै अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा रुपान्तरण भएको चर्चा गर्दै थापाले राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मार्गचित्रले मात्र मुलुक स्थिर र प्रगतितर्फ जाने स्पष्ट पारे ।
संघीयताको अनावश्यक भारी देशले थाम्न नसक्ने भन्दै संघीयता खारेज गर्नुपर्ने बताए । कार्यनीतिका कारण राप्रपासँगको एकता क्षिण बन्दै गएको भन्दै उनले राप्रपा सत्ता केन्द्रित मानसिकताबाट ग्रस्त भएको टिप्पणी गरे ।
अहिले देशको व्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक भएको भन्दै थापाले सबै राष्ट्रबादी शक्तिबीच वृहत मोर्चा बन्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा पार्टीका महामन्त्री राजाराम बर्तौला, माधब खत्री, डम्बर शिवाकोटी, रामसुन्दर बिष्ट, श्याम नेपाल लगायतको उपस्थिति रहेको थियो ।