युएई, चैत ६ – सम्युक्त्त अरब एमिरेट्स युएईमा १८ जना नेपाली अलपत्र परेका छन । ३ महिना पहिले युएई आएका उनीहरुले नेपालमा गरेको सम्झौता अनुरुप काम र तलव नपाएपछि खाना र बस्न समस्या भएकाले अलपत्र परेका हुन ।
उनीहरु काठमाण्डौँमा रहेको रेड पाण्डा इन्टरनेशनल ओभरसिज मार्फत युएईको बैट अलरनीन टेक्निकल सर्भिसेस कम्पनीमा आएका हुन । युएईको सारजाह औधोगिक क्षेत्रमा रहेको मजदुर क्याम्पमा रहेका उनीहरुले समस्यामा परेको भन्दै उद्दारका लागि प्रवास नेपाली सम्पर्क बिभाग युएईलाई निवेदन दिएका थिए ।
यसरी अलपत्रपर्नेहरुमा अर्जुन प्रजापती, छन्नु हरिजन, उत्तम प्रसाद हरिजन,प्रेम बहादुर बराम,शम्भु पासी, र सुन्दर श्रेष्ठ छन । त्यस्तै बिष्णु कुमार श्रेष्ठ, सुमन थापा मगर,बम बहादुर विक, चन्द्र केशर राजभार, ईन्द्र बहादुर दर्जी र अशोक कुमार चमार छन । अलपत्र पर्नेहरुमै नाथु अहिर, राजकुमार थापा, गुमान सिंह विक, प्रकाश थापा, भुपेन्द्र शाही र रमेश बहादुर विक रहेका छन ।
पीडित मार्फत आएको निवेदन बिभागले नेपाली दुतावास आबुधावी, श्रम मन्त्रालय, बैदेशिक रोजगार बिभाग, तथा परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै उद्दारका लागी अनुरोध गरेको र आफुहरुले गुजारा चलाऊन केही खाध्य सामाग्री प्रदान गरेको बिभागका युएई सभापती सुजन थापाले जानकारी दिए ।

अलपत्र परेका पीडितहरुले कम्पनिले ३ महिना सम्म भिसा समेत नलगाएको र काम पनि नदिएको गुनासो गरेका छन । उनीहरुले नेपालमा म्यानपावर लाई डेढ देखी ३ लाख सम्म तिरेर आएको बताएका छन । अलपत्र उनीहरुले म्यानपावरका संचालक राजकुमार बानियालाई फोन गरेर आफुहरुको उद्दार गरिदिन पटक पटक अनुरोध गरेको तर दुतावस तथा मन्त्रालय जहाँ गएर उजुरी गरे पनि आफुलाई केही फरक नपर्ने भन्दै उल्टै धम्काउने गरेको पीडितहरुको गुनासो छ ।
यसैबीच नेपाली श्रमिक समस्यामा परेको जानकारी दुतावासमा आए लगत्तै कम्पनी र नेपाल बाट कामदार ल्याउने म्यानपावर सँग संपर्क गरेको र दुई दिन भित्र समस्या समाधान गर्ने आस्वाशन पाएको दुतावासका श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताए । दुई दिन भित्र समस्याको समाधान नभए प्रत्यक्ष फिल्ड भिजिट गरेर कम्पनी र म्यानपावरलाई प्रकृयागत रुपमा कालो सूचीमा राख्ने गरी बैदेशिक रोजगार बिभागमा पत्राचार गरिने सुवेदिको भनाइ छ । यस् बिषयमा श्रम सहचारी अविद अन्सारीले समन्वयब गरिरहेको दुतावासले जनाएको छ ।