पोखरा । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेपछि गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।
४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा मनाङबाट स्वतन्त्र हैसियतमा जितेका मनाङे त्यसको १५ दिनपछि १९ मंसिरमा एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर अहिले सत्ता समीकरणका कारण गण्डकीमा सरकार बनाउने र टिकाउने खेल सुरु भएका बेला उनले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका हुन् ।
आइतबार मनाङेले आफूले एकीकृत समाजवादी पार्टी परित्याग गरेको भन्दै गण्डकी प्रदेशसभा सचिवालयमा पत्र दिएका छन् ।
‘एकीकृत समाजवादीमा प्रवेश गरेपछि त्यही दलको सदस्यका रुपमा संसदमा जानकारी आएको थियो र त्यहीरुपमा सूचीकृत गराइएको थियो । तर, अहिले उहाँले दल त्यागेर स्वतन्त्र नै रहेको जानकारी गराउनुभएको छ’, प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले भने ।
प्रदेशसभा सदस्य मनाङेले गण्डकीमा अप्ठेरो अवस्था देखिएकाले मध्यावधि चुनावमा जान सक्ने अवस्था रोक्न आफूले स्वतन्त्र रहने निर्णय गरेको बताएका छन् ।
