काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले नेपालका लागि इजरायलका राजदुतलाई आफ्नै कार्यकक्षमा बोलाएर भेटेका छन । नेपालस्थित इजरायली राजदूत हनन गोडेर गोल्डबेर्गर बीच मन्त्रालयमै शिष्टाचार भेट गरेको मन्त्रालयले जनाएको छ ।
भेटका अवसरमा द्विपक्षीय श्रम सम्बन्धका विविध पक्षका बारेमा मन्त्री अर्यालले चासो दिएर सोधपुछ गरेका थिए । राजदुत बेर्गरले जी टु जी प्रक्रियाबाट केयर गिभरका रुपमा नेपाली श्रमिकहरु इजरायल गइरहेकोमा भविष्यमा निर्माण, पर्यटन, कृषि लगायतका अन्य विभिन्न क्षेत्रमा समेत नेपाली श्रमिकहरु पठाउन द्विपक्षीय छलफल र समन्वयलाई प्रभावकारी बनाउदै लैजाने विषयमा समेत कुराकानी भएको थियो।

यसै क्रममा इजरायलमा कार्यरत रहँदा इजरायल गाजा क्षेत्रमा जारी द्वन्दको क्रममा मृत्यु भएका नेपाली श्रमिकहरुको परिवारलाई क्षतिपूर्ति बापत मासिकरुपमा भत्ता रकम उपलब्ध गराउने इजरायल सरकारले निर्णय गरेको राजदूत बेर्गरले मन्त्रीलाई जानकारी दिए ।
इजरायल सरकारको उक्त निर्णयप्रति श्रममन्त्रीले धन्यवाद ब्यक्त गर्दै इजरायलबाट विभिन्न क्षेत्रमा प्राप्त मागहरुको आधारमा नेपाली श्रमिकहरुलाई पठाउने विद्यमान प्रकियालाई आगामी दिनहरुमा छिटो छरितो र सरलीकरण गर्दै लगिने मन्त्री अर्यालले बताए ।
