दुबई । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डको सहकार्यमा यूएईको दुबईमा रोजगार मेला ‘जब फेयर २०२४’ सम्पन्न गरेको छ । रोजगार मेलामा एउटा रेमिट्यान्स सम्बन्धी सहित ६४ वटा स्टल राखिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मेलाको उद्घाटन गर्दै यूएईले हासिल गरेकोे विश्वस्तरको उपलब्धिमा नेपाली कामदारको उच्च योगदान रहेकोे बताए ।

नेपाली कामदारको सम्मान र सुविधामा वृद्धि गरिनु पर्ने बिषय अगाडि सार्दै मन्त्री भण्डारीले विज्ञान र प्रविधिको प्रयोगले अवसर र चुनौती दुवै सिर्जना गरेकाले चुनौतीको सामना गर्न बजारको मागअनुसार श्रमिकको सीप क्षमताको विकासमा नेपालले सहकार्य गर्न गर्न चाहेको बताए ।
कामदारको अधिकार, सुरक्षा र सम्मान हुनुपर्ने जनाउदै मन्त्री भण्डारीले सुरक्षाको ग्यारेन्टी सहित द्विपक्षीय सम्झौता भए घरेलु कामदारको रुपमा महिला पनि पठाउन नेपाल तयार रहेकोे बताए ।

कार्यक्रमलाई श्रम सचिव केवलप्रसाद भण्डारी, युएईका लागि नेपाली राजदुत तेजबहादुर क्षेत्री, बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, युएईका मानव संसाधन मन्त्रालयका श्रम सम्बन्ध विभाग प्रमुख अमिद आयासीले सम्बोधन गरेका थिए । कार्यक्रममा युएईका तर्फबाट आयासी सहित मानव संसाधन मन्त्रालयका अन्तर्राष्ट्रिय सम्बन्ध विशेषज्ञ अब्दुल अजीज अल शाम्शी, परराष्ट्र मन्त्रालयका पश्चिम एशिया मामिला विभाग डेस्क अफिसर खालिद अल हास्मी सहभागी थिए । कार्यक्रममा युएईमा मानव संसाधन सम्बन्धी काम गर्ने स्थानीय एजेन्सी, बिभिन्न रोजगारदाता कम्पनीका प्रतिनिधि सहभागी थिए ।
बैरो संघका अध्यक्ष राजेन्द्र भण्डारीले रोजगारदाताहरुसँग नेपाली मेनपावर व्यवसायीहरुको प्रत्यक्ष सम्बन्ध स्थापित गर्न रोजगार मेला आयोजना गरिएको बताए । कार्यक्रममा संघका कार्यसमिति सदस्य नारायण भुषालले पावर प्वाइन्ट मार्फत प्रस्तुती दिएका थिए ।

रोजगार मेलामा ६३ म्यानपावर कम्पनी सहित स्थानीय रोजगारदाता गरी झन्डै २ सय जनाभन्दा बढीको सहभागिता थियोे ।
रोजगार मेलामा यहाँका स्थानीय रोजगारदाताहरु, यहाँका राज्यका च्याम्बरहरु, भारतीय लगानी समुह, ब्यापारिक समुह, एचआर एशोसिएसन र आधिकारिक नेपाली च्याम्बरसहित अवलोकनका लागि आमन्त्रण गरिएको थियोे । यधपी युएईका लागी नेपाली राजदुत तेजबहादुर क्षेत्रीले समय अभावका कारण अपेक्षित तयारी पूरा हुन नसकेको भन्दै उल्लेख्य रोजगारदाता सहभागी गराउन नसकिएको बताए ।
पहिलोपल्ट नेपालले १७ वर्षअघि २००७ को जुन ६ तारिकमा यूएईमै रोजगार मेला आयोजना गरेको थियोे । नेपाली दूतावास यूएईमा कार्यरत श्रम काउन्सिलर दीनबन्धु सुवेदीले यूएईको रोजगारीमा प्रविधिको प्रयोगका कारण धेरै परिवर्तन भएकाले रोजगार मेला समय समयमा भइरहनुपर्ने बताए । हालखबर सँग कुरा गर्दै सुवेदीले नेपालले १७ वर्षको अन्तरालमा रोजगार मेला गरेपनि फिलिपिन्स जस्ता कामदार पठाउने मुलुकले छिटोछिटो मेला गरेर रोजगारदाताहरुलाई आफ्नोे देशमा रहेका जनशक्तिको बारेमा जानकारी गराउने गरेका कारण उक्त मुलुकले धेरै लाभ उठाएको बताए । युएईमा पररम्परागत निर्माण कामदार, सुरक्षागार्ड, सर्भिस तथा हस्पिटालिटी क्षेत्रमा गरी झन्डै ५ लाख बढीले काम गरिरहेको पनि श्रम काउन्सिलर सुवेदीले बताए ।
नेपाली कामदारको प्रमुख श्रम गन्तब्य मुलुकको रुपमा रहेको यूएई र नेपाल सरकारबीच यसअघि भएको सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था छ । सम्झौतामा कामदारले कुनै पनि शुल्क भुक्तानी तिर्नु नपर्ने भनिएपनि रोजगारदाताको कमीकमजोरीका कारण प्राय सबै कामदार धेरै शुल्क तिरेर आऊने गरेका छन ।
रोजगार मेलामा यूएईमा कामदार पठाउने मेनपावर कम्पनीसहित मलेसिया र युरोपेली मुलुकमा कामदार पठाउने वैदेशिक रोजगार व्यवसायीहरुले पनि स्टल राखेका थिए । प्रयाप्त स्थानीय कम्पनी र रोजगारदाता हरुको कम उपस्थितीले गर्दा कार्यक्रमले अपेक्षाकृत सफलता नपाएको व्यवसायीहरुको भनाइ छ । बैदेशिक रोजगार ब्यवसायीहरु सहभागी भएको कार्यक्रममा दुबई च्याम्बर अफ कमर्स समेत उपस्थित भएन ।
युएईका व्यवसायीहरुको न्युन उपस्थिती रहेपनि बैरो संघका महासचिव मेघनाथ भुर्तेलले थोरै समयमा गरेको तयारीले पनि सकारात्मक प्रतिफल दिएको बताए ।
