काठमाडौं । दुबईमा रोजगार मेला सुरु भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समन्वयबमा श्रम, रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले विभिन्न सरोकारवालाहरुको सहकार्यमा मेला आयोजना गरिएको हो ।
युएईको दुबईमा सुरु भएको रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलगायत सहभागी हुने संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।
मेलामा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी सहित मन्त्रालयको टोली शुक्रबार दुबई आउँदै गरेको नेपाली दुतावास आबुधावीका द्वितिय सचिव तथा सूचना अधिकारी भुपेन्द्र घिमिरेले जानकारी दिए ।
मेलामा मन्त्रालय र बोर्डका प्रतिनिधि, वैदेशिक रोजगार व्यवसायीहरु, पर्यवेक्षक एवं आमन्त्रित ब्यक्तित्व, तथा रोजगारदाताहरु समेत गरी करिब २५० जना सहभागी रहनेछन् । मेलामा ५० वटा भन्दा धेरै म्यानपावर ब्यवसायिका स्टल रहनेछन । जसमा वैदेशिक रोजगार बोर्डको समेत एउटा स्टल रहनेछ ।
नेपालबाट वैदेशिक रोजगारमा पठाउने व्यवसायी र रोजगारदाताको प्रत्यक्ष भेटका लागि उक्त मेला आयोजना गरिएको आयोजकको दावी छ ।
मेलामा १०० भन्दा बढी रोजगारदाताको सहभागिता रहने छ । यूएईमा रहेका रोजगारदाताहरू, युएईका च्याम्बर, भारतीय लगानीकर्ताहरुको समुह तथा व्यवसायिक संघसस्था तथा बिजनेस काउन्सिल लगायतको सहभागिता रहने छ ।
यसअघि नेपालले २००७ जुन ६ मा दुबईको ग्रान्ड हयात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो ।
