दोहा । मार्च तेस्रो सातादेखि अप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निस्चित भएको छ । त्यस क्रममा दुई देशबीच “ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने” नेपाली अधिकारीहरूले बताएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच “श्रम मामिलासम्बन्धी” केही समझदारी तथा सम्झौता गर्न लागिएको छ। त्यस्ता समझदारीहरुमा सन् २००५ मा नेपाल र कतारबीच भएको तर खासै कार्यान्वयनमा नआएको श्रम सम्झौताको नयाँ मस्यौदा तयार पारिएको छ ।
उनले उक्त सम्झौतासम्बन्धी समझदारीपत्रमा अमिरको भ्रमणका क्रममा दुई देशबीच हस्ताक्षर गर्ने योजना बनाइएको बताए।
भण्डारीले भने, “मस्यौदा हामीले कतारलाई पठाएका छौँ। मार्च तेस्रो सातादेखि अप्रिल पहिलो सातासम्ममा कतारका अमिरको भ्रणम हुनेछ र त्यसमा समझदारीपत्रमा हस्ताक्षर हुनेछ।”
उनले दुई देशबीच त्यस बेला “बहुआयामिक” क्षेत्रमा सम्झौताहरू हुने बताए।
भण्डारीले भने, “सञ्चारदेखि वन क्षेत्र र जलवायु परिवर्तनदेखि लगानी र श्रमसम्मका कुरा हुन्छन्। बहु-समझदारी हुन्छन् र ती मन्त्रालय अनुसार फरक फरक छन्।”
उनले सम्बन्धित मन्त्रालयहरूले समझदारीपत्रहरू वा सम्झौतापत्रहरूको मस्यौदामा काम गरिरहेको जानकारी पनि दिए।