दोहा । मार्च तेस्रो सातादेखि अप्रिल पहिलो साताभित्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निस्चित भएको छ । त्यस क्रममा दुई देशबीच “ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुने” नेपाली अधिकारीहरूले बताएका छन्।
कतारका सरकार तथा राष्ट्र प्रमुखले नेपाल भ्रमण गर्न लागेको यो पहिलो पटक हो । नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मुलुक कतार भएकोले यसलाई महत्वका साथ हेरिएको छ ।
अघिल्ला बर्षहरुमा नेपालका दुईजना राष्ट्र प्रमुखहरूले कतारको भ्रमण गरिसकेका छन ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार कतारी अमिरको भ्रमणका बेलामा दुई देशबीच “श्रम मामिलासम्बन्धी” केही समझदारी तथा सम्झौता गर्न लागिएको छ।
त्यसका लागि कतिपय समझदारी तथा सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने काम जारी छ ।
नेपाली श्रम तथा कूटनीतिक अधिकारीहरूले दिएको जानकारीअनुसार उक्त भ्रमणका क्रममा नेपाल र कतारबीच विकास साझेदारीसम्बन्धी समझदारीसमेत हुने छन् ।
