आबुधावी । संयुक्त अरब ईमिरेट्स (युएई)को आबुधावीमा मध्यपुर्वकै पहिलो एवम् दक्षिण एसिया बाहिरको सबैभन्दा ठूलो हिन्दु मन्दिरको (बिएपिएस) उद्घाटन हुँदैछ।
युएईको राजधानी अबुधाबीमा निर्मित भव्य हिन्दु मन्दिरको आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले उद्घाटन गर्न लागेका हुन।
२० अप्रिल २०१९ मा शिलन्यास गरिएको सो स्वामी नारायणको मन्दिर २७ एकड जमिनमा फैलिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि सन २०१५ मा युएई भ्रमणमा आएकोबेला युएईले हिन्दु मन्दिर निर्माण गर्न जग्गा दिने घोषणा गरेको थियो। अबुधाबीको मुख्य शहरबाट झन्डै ५० किलोमीटरको दुरिमा रहेको मन्दिरको निर्माण बाप्स स्वामिनारायण संस्थाले गरेको हो।

यो मन्दिरको उचाई १०८ फिट, लम्बाई २६२ फिट र चौडाई १८० फिट रहेको छ भने युएईका ७ राज्यको प्रतिक स्वरुप ७ शिखर र ४१० स्तम्भ रहेको पिरामिड शैलिको निर्माण गरिएको छ । ईस्लामिक देशमा हिन्दु संस्कृतिप्रतिको सहिष्णुता र सम्मानको प्रतिकको रूपमा निर्माण गरिएको यस मन्दिरको संरचना १३.५ एकडमा निर्माण गरिएको छ । त्यस्तै १३.५ एकड जमिनमा बगैचा, पार्किङ सहित अन्य संरचना निर्माण गरिएको छ।
मन्दिरको बाहिरी तहमा ‘पिंक राजस्थान मार्वल’ प्रयोग गरिएको छ भने भित्री तहमा ‘ईटालियन व्हाईट मार्वल’ को प्रयोग गरिएको छ।
फलाम, आल्मुनियम लगायतका धातुहरुको प्रयोग नगरी निर्माण गरिएको मन्दिरमा भारतिय शिल्पकारहरुले निर्माण गरेका विभिन्न स्वरुप र आकृतिका कलाहरु देख्न पाईन्छ। ४ वर्षमा निर्माण पूरा गरिएको मन्दिर निर्माणमा ४ सय मिलियन दिराम खर्च भएको उल्लेख छ ।
मन्दिर परिसर भित्र हिन्दु धर्मावलम्बीका विभिन्न संस्कारहरु सञ्चालन गर्न छुट्टै हलको समेत निर्माण गरिएको छ। जहाँ जन्मदेखि मृत्युसम्मका सम्पुर्ण हिन्दु संस्कारहरु गर्न सकिनेछ। स्वामिनारायण संस्थाका महन्थले सन् १९९५ मै युएईमा हिन्दु मन्दिर निर्माण गर्ने परिकल्पना सहित १९९७ मा मन्दिरको अवधारणा सार्वजनिक गरिएको थियो ।
सोही मन्दिरको आज सरस्वती पूजाको दिन पारेर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको विशेष उपस्थितिमा उद्घाटन गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदीको यो सातौ पटकको युएई भ्रमण हो ।
दुबईमा जारी वल्ड गभरमेण्ट सम्मिटमामा समेत सहभागी हुन युएई आएका प्रधानमन्त्री मोदीले आज स्थानीय समय अनुसार बेलुका ६ बजे मन्दिरको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यस्तै १८ फेब्रुअरी देखि सर्वसाधारणका लागि आंशिक रूपमा खुला रहनेछ। आगामी मार्च १ देखि भने सबैका लागी मन्दिर खोलिने बताईएको छ।
मन्दिर उद्घाटन समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी हिजै युएई आईपुगेका छन् भने संसारभरबाट हिन्दु धर्म गुरुहरु भेला भएका छन् ।