दुबई । यूएईमा दुवई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय भएको पाइएको छ । यहाँ कार्यरत नेपालीसमेतलाई लक्षित गरेर गिरोहले ठगीधन्दा चलाइरहेको पाएपछि आफुहरुले नेपाली समुदायलाई सचेत रहन सूचना जारी गरेको नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए ।
उनका अनुसार अहिले युएईमा ठगी गर्ने कार्यमा संलग्नहरुले दुवई पुलिसको नाम लिएर मोवाईलमा फोनकल तथा विभिन्न सञ्जालहरु ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोवाईल म्यासेज गर्ने गरेको पाइएको छ । कतिपय अवस्थामा दुबई पुलसको पहिरन लगाएर बिभिन्न माध्यममा भिडियो कल गर्ने स्क्याम्प गर्ने गिरोह सकृय भएको पाइएको छ ।
जसको माध्यमबाट ईमिरेष्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंङ्कको सिभिसी नम्बर माग्ने र उक्त नम्बर लिई सकेपछि रजिष्टर मोवाईलमा आउने ओटिपी नम्बर समेत मागेर खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने कार्य भएको पाइएको उनको भनाइ छ ।
यस्ता क्रियाकलाप जोसुकैलाई पनि हुन सक्ने भएकाले सजक रहन उनले नेपाली समूदायलाई आग्रह गरे । उनका अनुसार युएईमा कुनैपनि प्रशासनिक फोनकल गर्दा ल्याण्डलाइनकोनै प्रयोग गरेको हुन्छ । तर, यस्ता ठगी फोनकलहरु मोवाईल नम्बरबाट आउने गर्दछन् ।
यस्तै पुलिसले फोन गरेर कहिल्यै पनि बैंकको जानकारी तथा सिभिसी नम्बर माग नगर्ने हुँदा कुनैपनि जानकारीहरु कसैलाई पनि नदिन आग्रह गरिएको छ ।
