हालखबर अनलाइन । सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ।
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा संघीय संसद्को हिउँदे अधिवेशन शुरू भएको हो। यो प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौं अधिवेशन हो।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। सभामुख घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरे।
बैठकमा मन्तव्य दिँदै सभामुख घिमिरेले कानून निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानून निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र जवाफदेहीता अपनाउँदै संसद् गतिविधि र अभ्यासलाई परिणामुखी एवं उन्नत बनाउन आग्रह गरे।
यस अघिवेशनदेखि कार्यतालिका लागू गरी नयाँ अभ्यास शुरू गरिएको उनले बैठकलाई जानकारी गराएका थिए। प्रतिनिधि सभाको अर्को बैठक माघ २४ गते बिहान ११ बजे बस्नेछ।
