काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यापारी अरुण चौधरीलाई पक्राउ गरेको छ । बाँसबारी छालाजुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरेको हो ।
सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई अहिले सीआईबी हिरासतमा राखिएको छ । चौधरी सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन् ।
त्यस्तै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापालाई पक्राउ गरिएको छ । थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।
के हो विवाद ?
बाँसबारी छाला उद्योग चीन सरकारको अनुदान सहयोगमा २०२० सालमा स्थापित भएको थियो ।
तर निरन्तर घाटामा गएको देखाएर १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई बिक्री गरिएको थियो । भदौ २०४३ मा ६ रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई सरकारी मूल्यांकन भन्दा सस्तो (रोपनीको २ लाख ५० हजार) मा बेचिएको थियो भने थप ४ रोपनी जग्गा उद्योगको २५०० कित्ता शेयर पाउने गरी दिइएको थियो ।
त्यसबेला च्याम्पियन फुटवेयरको शेयर सदस्य अरुणसँगै विनोद चौधरी, बसन्त चौधरी लगायत थिए । पछिल्लो समय यसको शेयर सदस्य अरुण र उनकी श्रीमती शीला थिए ।
अहिले यो जुत्ता उद्योग छैन । कम्पनीको नाम परिर्वतन गरेर सीजी चाँदबाग रेसिडेन्सी प्रालि राखिएको छ र, चौधरी ग्रुप फाउन्डेसनले यहाँ चाँदबाग स्कुल सञ्चालन गरेको छ ।
